काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले बस्याललाई सो जिम्मेवारी दिने निर्णय गरेको हो । यो नियुक्ति आजैका मिति अर्थात् २०८२ साल पौष २५ गतेदेखि लागू हुने बैंकले जानकारी दिएको छ । बैंकिङ्ग क्षेत्रमा करिब ३६ वर्षको लामो अनुभव सँगालेका बस्यालले सन् १९८९ देखि २००५ सम्म नबिल बैंक लिमिटेडमा विभिन्न जिम्मेवार पदहरूमा रहेर कार्य गरेका थिए ।
सन् २००५ देखि सिद्धार्थ बैंकमा आबद्ध भएका उनले यहाँ प्रबन्धकदेखि सुरु गरी वरिष्ठ प्रबन्धक, सहायक महाप्रबन्धक, नायव महाप्रबन्धक, सहायक प्रमुख कार्यकारी अधिकृत र नायव प्रमुख कार्यकारी अधिकृतसम्मको नेतृत्वदायी भूमिका सफलतापूर्वक निर्वाह गरिसकेका छन् । आफ्नो साढे तीन दशक लामो करियरमा बस्यालले बैंक सञ्चालनका विभिन्न आयामहरूमा व्यापक अनुभव प्राप्त गरेका छन् । विशेषगरी बजार व्यवस्थापन, कर्जा लगानी तथा जोखिम व्यवस्थापनको क्षेत्रमा उनको महत्वपूर्ण योगदान रहेको बैंकले उल्लेख गरेको छ ।
संस्थागत सुशासनलाई उच्च प्राथमिकता दिने बस्यालको नेतृत्वमा सिद्धार्थ बैंकले आगामी दिनमा दीगो वृद्धि हासिल गर्ने, ग्राहक सेवामा उत्कृष्टता ल्याउने र संस्थागत संरचनालाई थप सुदृढ बनाउने विश्वास बैंक परिवारले लिएको छ ।