काठमाडौँ — इन्डियन आइडल सिजन ३ का विजेता तथा नेपाली र भारतीय मनोरञ्जन जगतका लोकप्रिय गायक तथा अभिनेता प्रशान्त तामाङको आज (आइतबार) निधन भएको छ । दिल्लीस्थित उनको आफ्नै निवासमा कार्डियाक अरेस्टका कारण ४३ वर्षको उमेरमा उनको निधन भएको परिवार र नजिकका स्रोतले जनाएको छ ।
प्रशान्तले इन्डियन आइडल शो सिजन ३ सन् २००७ मा जितेर संगीत र मनोरञ्जन क्षेत्रमा स्थापित स्थान कमाए र नेपालका दर्शक तथा श्रोतामाझ व्यापक रूपमा लोकप्रिय भए ।उनी नेपाली चलचित्रमा पनि सक्रिय थिए । उनले ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी २’, ‘अँगालो मायाको’, ‘किन मायामा’, ‘धड्कन भित्र’, ‘निशानी’ जस्ता चलचित्रमा अभिनय गरेका थिए ।
साथै ‘दिल’,‘अनमोल’, ‘हिम्मत २’ लगायतमा पाश्र्वगायन गरेका उनले बलिउड फिल्म ‘ब्याटल अफ गलवान’ बाट पनि डेब्यु गरेका थिए ।प्रशान्त भारतको दार्जिलिङमा जन्मिएका थिए । जीवनमा उनले कोलकाता प्रहरीमा कन्सटेबलको जागिरसमेत गरेका थिए ।उनले सन् २०११ मा एयर होस्टेस गीता थापासँग विवाह गरेका थिए र एक छोरीका पिता पनि थिए ।
उनको निधनको खबर फैलँदै गर्दा सामाजिक सञ्जालमा प्रशान्तप्रति **श्रद्धाञ्जली, समवेदना र शोक व्यक्त गर्नेहरू धेरै छन् । प्रशान्त तामाङको निधनले संगीत, चलचित्र तथा मनोरञ्जन क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै कलाकार, शुभेच्छुक र प्रशंसकहरू शोक व्यक्त गर्दैछन् ।