काठमाडौँ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान व्यक्त गरेका छन् । राष्ट्र निर्माताको सिंहदरबारको पश्चिमद्वार नजिक रहेको सालिकमा पुष्पहार अर्पण गरी राष्ट्रपति पौडेलले उनको योगदानको सम्मान गरेका हुन् । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिप्रति सलामी अर्पण गरेका थिए ।
आयोजित उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र उपाध्यक्ष विमला घिमिरे, नेपाल सरकारका मन्त्रीगणले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाल एकीकरणको अभियान्ता पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जली अर्पण गरी सम्मान प्रकट गरे ।
राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति मुख्यसचिव सुमनराज अर्याल, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, संवैधानिक निकाय तथा सुरक्षा निकायका प्रमुखलगायत समाजका विभिन्न क्षेत्रका महानुभावहरूले समेत सम्मान प्रकट गरे । हरेक वर्ष पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ गते राष्ट्रिय एकता दिवसका रूपमा मनाइँदै आएको छ ।