काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिक उम्मेदवारले सोमबार साँझ ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन् । निर्वाचन आयोगले आइतबार सूचना जारी गरी प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दलहरूवाट यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम सम्बन्धित उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने व्यहोरा सम्बन्धित सबै उम्मेदवारहरूलाई जानकारी गराएको छ ।
हरिहरभवनस्थित समानुपातिक निर्वाचन अधिकृतको कार्यालय निर्वाचन आयोगमा सोमबा बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने आयोगले जनाएको छ । साथै बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन दिन सकिने र कुनै कारणवस सम्बन्धित उम्मेदवार उपस्थित हुन नसक्ने भएमा वारेसमार्फत नाम फिर्ता लिन निवेदन दिन सकिने आयोगले जनाएको छ ।
यसैबीच, निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार र मतदताका लागि सुरक्षाको भरपर्दाे वातावरण हुने बताएका छन् । निर्वाचनमा सुरक्षाकै कारण राजनीतिक दल र उम्मेदवारले जनतासँग मात माग्न र मतदताले मतदान गर्न असुविधा हुने स्थिति नआउने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । उनले एकीकृत सुरक्षा योजनाअनुसारका चारैसुरक्षा निकायले समन्वयात्मक काम गरिरहेको र नेपाल सरकारले पनि आवश्यक स्रोत साधन उपलब्ध गराइरहेको स्पष्ट गरे ।
‘राजनीतिक दल, उम्मेदवार वा पक्षधरहरुले जनता र मतदातासमम्म आफ्ना विचार वा प्रचार लैजान निर्भयतापूर्वक विश्वस्त भएर लाग्नसक्ने स्थिति छ । सुरक्षाकै कारण मतदातासमक्ष उहाँहरु जान नसक्ने अवस्था छैन’, उनले भने, ‘यसका लागि सुरक्षा निकायले चनाखो भएर काम गरिरहेका छन् । सरकारले स्रोत, साधन उपलब्ध गराएकै छ ।’