काठमाडौं । भदौ २३ पछिको आन्दोलनको नाममा भएको विध्वंसात्मक गतिविधिका कारण १२ हजारभन्दा बढी सवारीसाधानमा क्षति पुगेको छ ।
आन्दोलनपछि सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानको क्षतिको मूल्यांकन र सार्वजनिक संरचनाको पुननिर्मण योजना तयार गर्न गठित समितिका अनुसार आन्दोलनको नाममा १२ हजार छ सय ५९ वटा सवारीसाधनमा क्षति पुर्याइएको छ । जसमा चालू अवस्थाका नौ हजार सात सय २७ वटा र चालू अवस्थामा नरहेका दुई हजार नौ सय ३२ वटा रहेको छ । कुल सवारीसाधानको क्षति रकम भने १२ अर्ब ९३ करोड ६१ लाख रुपैयाँबराबर रहेको छ ।
क्षति भएका सवारीसाधनमध्ये सबैभन्दा धेरै क्षति कार/जीप/भ्यान समूह र मोटरसाइकलको रहेको छ । ७२ प्रतिशत क्षति कार/जीप/भ्यान समूह र ११ प्रतिशत मोटरसाइकलको क्षति भएको हो ।
हेभी उपकरण र हेभी सवारीसाधनको क्षति रकम तुलनात्मकरूपमा कम भए पनि प्रतिएकाइ क्षति उच्च रहेको देखिन्छ । कुल दुई हजार आठ सय पाँचवटा बीमा भएको सवारीसाधनमा बीमा दाबी रकम तीन अर्ब ८८ करोड ३९ लाख रुपैयाँ रहेको देखिन्छ । विशेषगरी कार/जीप/भ्यान समूह र मोटरसाइकलको बीमा भएको छ भने बाँकीको बीमा भएको छैन ।
हेभी उपकरण ५० करोड ९९ लाख, हेभी सवारीसाधन ६५ करोड ६८ लाख, मिनीबस, मिनी ट्रक ८८ करोड २४ लाख, कार/जीप/भ्यान नौ अर्ब ३३ करोड ७२ लाखबराबरको क्षति भएको छ । मोटरसाइकल एक अर्ब ४८ करोड ९० लाख र अन्य सवारीसाधान छ करोड नौ लाखबराबरको क्षति भएको छ ।
आन्दोलन पछिको आगजनी तथा लुटपाटमार्फत नगद तथा बहुमूल्य वस्तु वा सम्पत्तिमा पनि करोडौको क्षति भएको समितिले जनाएको छ । समितिले तयार गरेको प्रतिवेदनअनुरूप नगद तथा बहुमूल्य वस्तु वा सम्पत्तिमा पुगेको समग्र क्षति कुल दुई अर्ब ८१ करोड ३४ लाख रहेको छ , जजसमा चोरीबाट ५७ दशमलव पाँच प्रतिशत, तोडफोडबाट ११ दशमलव छ प्रतिशत र आगजनीबाट ३० दशमलव नौ प्रतिशत क्षति भएको देखिन्छ ।
सुन, चाँदी, हिरा– मोतीजस्ता बहुमूल्य धातुमा समेत चोरीबाट एक अर्ब दुई करोड ६४ लाख (८८ प्रतिशत) क्षति भएको देखिन्छ भने आगजनीबाट १३ करोड ११ लाख र तोडफोडबाट ९३ लाखको क्षति भएको छ । त्यस्तै, अन्य बहुमूल्य वस्तुमा पनि आगजनी र तोडफोडको तुलनामा चोरीमार्फत बढी क्षति भएको छ । चोरीबाट मात्र २६ करोड २० लाख क्षति भएको छ ।
नगद ७८ करोड ५० लाख, सुन चाँदी हिरा मोती एक अर्ब १६ करोड ६७ लाख र अन्य बहुमुल्य वस्तु ८६ करोड १७ लाखबराबरको क्षति भएको छ । उक्त क्षति आगजनी तोडफोड र चोरीमार्फत भएको हो । आन्दोलनको नाममा संसद् भवन, सर्वोच्च अदालत, सिंहदरबारमा आगजनी, तोडफोड गरी क्षति पुराउनको साथै निजी सम्पत्ति, सामुदायिक सम्पत्तिमा समते क्षति पुर्याइएको थियो । आन्दोलनको नाममा भएको चोरी, लुटपाटका कारण संस्था र व्यक्ति समेत प्रभावित बन्न पुगेका थिए ।
आन्दोलनपछिको विध्वसंका कारण भौतिक संरचनामा भएको ठूलो क्षतिपछि सरकारले पुनर्निर्माणका लागि उच्चस्तरीय समिति गठन र कोष स्थापना गरेको थियो । ‘भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०८२’ स्वीकृत गरी उक्त समिति गठन र कोष निर्माण गरिएको हो ।
‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’मा हालसम्म १३ करोड ३५ लाख ६५ हजार रुपैयाँ जम्मा भएको छ । अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार गत सातासम्म उक्त रकम जम्मा भएको हो । कोषमा पछिल्लो समय सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत एक करोड एक लाख रुपैयाँ सहयोग उपलब्ध गराएको थियो । त्यसअघि मेटलाइफ नेपालले २५ लाख रुपैयाँ र दि ओरिएन्टल इन्स्योरेन्सले २० लाख रुपैयाँ सहयोग गरेका थिए ।