काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा भइरहेको कांग्रेसको विशेष महाधिवेशनको पक्षमा दुई हजार छ सय ६२ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् । कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा आइतबारदेखि सुरु भएको महाधिवेशनको पहिलो दिन आइतबार आठ ‘स्टल’बाट नाम दर्ता प्रक्रिया थालिएको थियो ।
आइतबार बिहान ९ बजेदेखि महाधिवेशन प्रतिनिधिले नाम दर्ता सुरु गरेका विशेष महाधिवेशन जिल्ला क्षेत्र, ‘फोकल पर्सन’ समन्वय समितिका संयोजक युवराज पाण्डेयले जानकारी दिएको राससले जनाएको छ । उनका अनुसार कोशी प्रदेशबाट चार २५, मधेस प्रदेशबाट चार सय ४६, बागमती प्रदेशबाट चार सय ३२, गण्डकी प्रदेशबाट दुई सय ९६, लुम्बिनी प्रदेशबाट तीन सय ९८, कर्णाली प्रदेशबाट एक सय ३४, सुदूरपश्चिम प्रदेशबाट एक सय ४८, उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर)बाट एक सय ७८ र भातृ, शुभेच्छुक एवं जनसम्पर्क समितिबाट एक सय ९५ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् ।
संयोजक पाण्डेयका अनुसार नाम दर्ता प्रक्रिया सोमबार बिहान ८ बजेदेखि पुनः थालिनेछ । विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान ८ बजेदेखि भृकुटीमण्डपको सभाहलमा सुरु हुने बताइएको छ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन सुरु गरेको हो । विशेष महाधिवेशनको उद्घाटन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले गरेका थिए । यही पुस २७ र २८ गते आयोजना गरिएको विशेष महाधिवेशनको उद्घाटनअघि उपत्यकाका विभिन्न स्थानबाट नेता, कार्यकर्ता भेला भई ¥याली, बाजागाजा र झाँकीका साथ आयोजनास्थल प्रवेश गरेका थिए ।
उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा मञ्चको व्यवस्था गरिएको छ भने मञ्च अगाडि हजारौँ संख्यामा नेता तथा कार्यकर्ताको उपस्थिति रहेको छ । मञ्चवरिपरि कांग्रेसको झण्डा, गेट, ब्यानर तथा प्रचारप्रसारका सामग्री राखेर सजाइएको छ । विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँले गरेका छन् । विशेष महाधिवेशनको उद्घाटनपछि बन्दसत्र आज बिहानदेखि भृकुटीमण्डपको सभाहलमा हुनेछ । गत असोज २९ गते कांग्रेसका ५४ दशमलव ५८ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन मागका साथ केन्द्रीय कार्यालयमा निवेदन दर्ता भएको थियो ।
विशेष महाधिवेशनलका सन्दर्भमा पार्टीको संस्थापन पक्षले भने असहमति जनाएको छ । पार्टीको संस्थापन पक्षले नियमित महाधिवेशनको तालिका तोकेर प्रक्रिया सुरु भइसकेकाले विशेष महाधिवेशनको औचित्य स्वतः समाप्त भइसकेको जनाएको छ ।