दोलखा । जिल्लाको वैतेश्वर गाउँपालिकाको आयोजनामा भएको वडा स्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिताको उपाधि वैतेश्वर गाउँपालिकाको कर्मचारी टिमले हात परेको छ ।
शनिबारदेखि सुरु भएको प्रतियोगितामा सहभागी १० टिमलाई पछि पार्दै आयोजक वैतेश्वर कर्मचारी टिमले उपाधि जितेको हो । विजेताले नगद ३० हजार रुपैयाँसहित सिल्ड–मेडल जित्न सफल भएको छ । त्यसैगरी प्रतियोगितामा वडा नम्बर–२ को शिक्षक टिम उपविजेता बन्दै नगद २० हजार रुपैयाँमा चित्त बुझाउनु परेको छ । प्रतियोगिता वडा नम्बर–३ को शिक्षक भलिबल टिम तेस्रो बन्दै नगद १० हजार हात पार्न सफल भएको छ भने प्रतियोगिता वडा नम्बर–१ को शिक्षक भलिबल टिमले सान्त्वना स्थान हासिल गर्दै नगद पाँच हजार जितेको छ ।
प्रतियोगितामा वैतेश्वरका ८ वडाका माध्यमिक, सामुदायिक विद्यालयका ८ वटा शिक्षक टिम र आयोजक गाउँपालिकाबाट दुईवटा कर्मचारी टिम सहभागी थिए । प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने खेलाडीहरूलाई वैतेश्वर गाउँपालिका वडा अध्यक्षहरू असोक तामाङ, श्यामकुमार घिसिङ, कमल अधिकारी र जिल्ला खेलकुद विकास समिति दोलखाका अध्यक्ष आशिष घिसिङलगायतले पुरस्कार वितरण गरेका थिए । उनीहरूले पालिकाभित्रका शिक्षक–कर्मचारीबीचको सम्बन्ध थप परिचयात्मक बनोस् भन्ने उदेश्यले आयोजना गरिएको प्रतियोगिताले राष्ट्रसेवक कर्मचारी र शिक्षकबीचको सम्बन्धलाई थप सकारात्मक तथा मजबुत बनाउने बताए । खेलाडी उत्पादन गर्ने मुख्य थलो नै विद्यालय भएकाले शिक्षकहरूलाई खेलकुद कार्यक्रममा जोडेर आफ्ना विद्यालयबाट विद्यार्थी खेलाडी उत्पादन गर्न टेवा पुगोस् भन्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको वैतेश्वर गाउँपालिका प्रवक्ता श्यामकुमार घिसिङले बताए ।