विराटनगर । मोरङ जिल्लामा रहेका दुईवटा करदाता सेवा कार्यालय स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । यहाँको सुन्दर हरैचा र पथरी शनीचरे करदाता सेवा कार्यालयलाई विधीवत रूपमा स्थानीय तहलाई हस्तान्तर गरिएको हो ।
विगतमा राजनीति दलले आफ्नो स्वार्थ पूरा गर्नकै लागि आवश्यक नै नभएका ठाउँमा करदाता सेवा कार्यालय स्थापना गरी काम विहीन बनाएर राखेको आरोप लाग्दै आएको थियो । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले मोरङको पथरी शनीचरे नगरपालिकाको पथरी बजारमा र मोरङकै सुन्दर हरैचा नगरपालिकाको विराटचौकमा करदाता सेवा कार्यालयको स्थापना गरेका थिए । उक्त दुवै कार्यालय जेन–जी आन्दोलनपछि सुशीला कार्की नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्का अर्थमन्त्री रामेश्वर खनालको निर्देशनपछि खारेज गरिएको हो । करदाता सेवा कार्यालय नै खारेजीमा परेपछि सो कार्यलयबाट प्रदान गरिने सेवा स्थानिय तहमा प्रदान गरिएको छ ।
आन्तरिक राजस्व विभागले सेवा कार्यालय हटाउन पत्राचार गरेसँगै आन्तरिक राजस्व कार्यालय विराटनगर मोरङले जिल्लामा रहेका सुन्दर हरैचा सेवा कार्यालयमा भएका आवश्यक कागजातहरू र व्यक्तिगत प्यान नम्बर वितरणका सुन्दर हरैचा नगरपालिकालाई अधिकार प्रत्यायोजन गरेको छ । त्यसैगरी मोरङकै पथरी शनीचरे नगरपालिको पथरी बजारमा रहेको करदाता सेवा कार्यालयका सम्पूर्ण कागजातसहित व्यक्तिगत प्यान नम्बर प्रदान गर्ने सम्पूर्ण अधिकारसहितको आवश्यक कागजात झापाको दमक बजारमा रहेको करदाता सेवा कार्यालयलाई हस्तारण गरिएको छ ।
गत हप्तामात्रै आन्तरिक राजस्व कार्यालय विराटनगर र करदाता सेवा कार्यालय सुन्दर हरैचाले संयुक्त रूपमा करदाताको काम सञ्चान गर्दै सुन्दर हरैचाका नगर प्रमुख केदार प्रसाद गुरागाईंलाई हस्तान्तरण गरेको छ । अब करदाता सेवा कार्यालय विराटचौकले गर्दै आएको व्यवसायिक प्रमाणपत्र तथा स्थानीय लेखा नम्बर (प्यान) को काम पनि सुन्दर हरैचा नगरपालिकाबट सुरु भएको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत केशव प्रसाद उप्रेतीले गत कातिक १७ गते बसेको मन्त्रिपरिषद बैठकबाट सबै स्थानीय तहबाट करदाता सेवा उपलब्ध गराउने निर्णय गरेपछि आफूहरूले पनि सेवा कार्यालयहरूबाट हुँदै आएका यी कामहरू स्थानीय निकायहरूलाई हस्तान्तरण गरिएको जानकारी दिए ।