क्वालालम्पुर । मलेसियाले एआईमा बनेका अश्लील सामग्रीको कारण एलन मस्कको ‘च्याटबोट ग्रोक’को पहुँचमाथि प्रतिबन्द लगाएको मलेशियाको प्रविधि नियामक निकायले आइतबार जानकारी गराएको छ । एएफपीका अनुसार ग्रोकको तस्बीर निर्माण गर्ने विशेषताको दुरूपयोग गरी ग्रोकका प्रयोगकर्ताहरूले महिला र बच्चाहरूको तस्बिरहरूलाई यौनजन्य स्वरूपमा ढाल्न अनुमति दिएको विश्वव्यापी प्रतिक्रियापछि यो निर्णय आएको हो ।
शनिबार इन्डोनेसिया उपकरणमा ग्रोकको सबै पहुँच अस्वीकार गर्ने पहिलो देश बनेको छ । मलेसियाली सञ्चार तथा मिडिया आयोगले एक विज्ञप्तिमा भनेको छ, ‘निर्णयले मलेसियामा प्रयोगकर्ताहरूको लागि मस्कको एआई कम्पनी (एक्स एआई)ले निर्माण गरेको ‘ग्रोक’ एप्पलिकेसनको पहुँचमा अस्थायी प्रतिबन्ध लगाउन निर्देशन दिएको छ ।’
मलेसियाको राजधानी क्वालालम्पुरमा एएफपीका एक पत्रकारले आइतबार ग्रोकलाई पहुँचका लागि सोध्दा त्यहाँ कुनै प्रतिक्रिया आएको थिएन । “यो कार्य अश्लील र यौनजन्य, अभद्य्र, घोर आपत्तिजनक र गैर–सहमतिपूर्ण हेरफेर भएका छविहरू उत्पन्न गर्न ग्रोकको बारम्बार दुरुपयोग पछि आएको हो,“ मलेसियाली नियामक निकायले भनेको छ ।
वक्तव्यमा मस्कको ‘एक्स कर्प’ र ‘ग्रोक’को विकास गर्ने एक्सएआई कम्पनीलाई जारी गरिएको ‘पूर्व नियामक संलग्नता र औपचारिक सूचनाहरूको बाबजुद महिला र नाबालिगहरू समावेश भएको सामग्री’ को दुरुपयोग भएको बताइएको छ । एआई उपकरण सामाजिक मिडिया प्लेटफर्म एक्समा एकीकृत छ । मलेसियन नियामकले प्लेटफर्मको सुरक्षा उपायहरू अपर्याप्त भएको बताएको छ, र आवश्यक परिवर्तनहरू प्रमाणित भएपछि मात्र पहुँच पुनः सुरु हुनेछ । नियामकले भनेको छ, “एक्स कर्प एआई उपकरणको सिर्जना र कामबाट उत्पन्न अन्तर्निहित जोखिमहरूलाई सम्बोधन गर्न असफल भएको थियो, यो प्रयोगकर्ताद्वारा सुरू गरिएको रिपोर्टिङ संयन्त्रमा निर्भर थियो ।’