काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै महाधिवेशन प्रतिनिधिहरूको समर्थन तीव्र रूपमा बढ्दै गएको छ। विशेष महाधिवेशन प्रचार संयोजक सुवास पोखरेलले हालसम्म ६३ प्रतिशत प्रतिनिधिको हस्ताक्षर संकलन भइसकेको दाबी गरेका छन्।
सोमबार साँझ काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले भने,“६३ प्रतिशत हस्ताक्षर भइसकेको छ। प्रतिनिधिहरू आउने क्रम अझै जारी छ। हामी ७० प्रतिशत पुर्याएर देखाउँछौं।”उनका अनुसार पार्टीभित्रको असन्तुष्टि र नेतृत्वप्रतिको असहमतिका कारण विशेष महाधिवेशनको माग बलियो बन्दै गएको छ। यद्यपि पार्टी सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका नेताहरूले भने विशेष महाधिवेशनको मागप्रति आपत्ति जनाउँदै आएका छन्।
यसैबीच, विशेष महाधिवेशन पक्षधर समूहले बन्दसत्रको कामसमेत अघि बढाइसकेको छ। आन्तरिक छलफल र रणनीति निर्माण तीव्र बनाइएको उनीहरूको भनाइ छ। पार्टीभित्र नेतृत्व, कार्यशैली र भावी राजनीतिक दिशाबारे बढ्दो असन्तुष्टिले नेपाली कांग्रेसलाई गम्भीर मोडमा पुर्याएको छ। विशेष महाधिवेशनको मागले पार्टीभित्रको शक्ति सन्तुलन र आगामी राजनीतिक समीकरणलाई पनि असर पार्ने देखिएको छ।