काठमाडौं । बैंकिङ क्षेत्रको निक्षेप रकम झण्डै तीन खर्ब रुपैयाँले बढेको छ । चालू आर्थिक वर्षको पछिल्लो पाँच महिना अर्थात् मंसिर मसान्तसम्ममा बैंकिङ क्षेत्रको कुल निक्षेप रकम तीन दशमलव नौ प्रतिशत अर्थात् दुई खर्ब ८१ अर्ब ८९ करोड रुपैयाँले बढेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार सोही वृद्धिका आधारमा पछिल्लो समय बैंकिङ क्षेत्रको कुल निक्षेप रकम ७५ खर्ब ४५ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप दुई दशमलव सात प्रतिशत अर्थात् एक खर्ब ७२ अर्ब ३२ करोड रुपैयाँले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १३ दशमलव नौ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको मंसिर मसान्तमा बैंक तथा फाइनान्स कम्पनीहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः छ दशमलव चार प्रतिशत, ३९ दशमलव नौ प्रतिशत र ४४ दशमलव छ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः पाँच दशमलव तीन प्रतिशत, ३३ दशमलव छ प्रतिशत र ५३ दशमलव एक प्रतिशत रहेको थियो । चालू आवको मंसिर मसान्तमा बैंक तथा फाइनान्स कम्पनीहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५ दशमलवल तीन प्रतिशत रहेको छ । २०८१ मंसिर मसान्तमा यस्तो निक्षेपको अंश ३५ दशमलव आठ प्रतिशत रहेको थियो ।
चालू आवको मंसिर मसान्तमा बैंक तथा फाइनान्स कम्पनीहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा एक दशमलव नौ प्रतिशत अर्थात् एक खर्ब दुई अर्ब २४ करोड रुपैयाँले बढेर ५५ खर्ब ९९ अर्ब ९५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा एक खर्ब ७८ अर्ब २९ करोड अर्थात् तीन दशमलव पाँच प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ मंसिर मसान्तमा बैंक तथा फाइनान्स कम्पनीहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा छ दशमलव छ प्रतिशतले बढेको छ । २०८२ मंसिर मसान्तमा बैंक तथा फाइनान्स कम्पनीहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२ दशमलव सात प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७ दशमलव तीन प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४ दशमलव एक प्रतिशत र ३५ दशमलव नौ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंंकका अनुसार चालू आवको मंसिर मसान्तममा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको दुई प्रतिशत, विकास बैंकहरूकोे शून्य दशमलव आठ प्रतिशत र फाइनान्स कम्पनीहरूको कर्जा प्रवाह एक दशमलव दुुई प्रतिशतले बढेको छ । २०८२ मंसिर मसान्तमा बैंक तथा फाइनान्स कम्पनीहरूमा लगानीमा रहेको कर्जामध्ये चालू सम्पत्ति अर्थात् कृषि तथा गैरकृषिजन्य वस्तुको सुरक्षणमा १४ दशमलव नौ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६४ दशमलव चार प्रतिशत रहेको छ । २०८१ मंसिर मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १३ दशमलव पाँच प्रतिशत र ६६ दशमलव एक प्रतिशत रहेको थियो ।
चालू आवको पाँच महिनामा बैंक तथा फाइनान्स कम्पनीहरूको लगानीमा रहेको कर्जामध्ये निर्माण क्षेत्रतर्फको कर्जा पाँच दशमलव दुई प्रतिशत, उपभोग्य क्षेत्रतर्फको कर्जा पाँच दशमलव एक प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा तीन दशमलव पाँच प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा दुई दशमलव पाँच प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा शून्य दशमलव चार प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा र वित्त बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा दुई दशमलव दुई प्रतिशतले घटेको छ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा फाइनान्स कम्पनीहरूबाट प्रवाहित कर्जामध्ये हायर पर्चेज कर्जा छ दशमलव एक प्रतिशत, मार्जिन प्रकृतिको कर्जा पाँच दशमलव सात प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) तीन दशमलव सात प्रतिशत, क्यास क्रेडिट कर्र्जा दुई दशमलव छ प्रतिशत, आवधिक कर्जा एक दशमलव दुई प्रतिशत, माग तथा अन्य चालू पुँजी कर्जा एक प्रतिशत र ट्रस्ट रिसिट अर्थात् आयात कर्जा शून्य दशमलव नौ प्रतिशतले बढेको छ । यस अवधिमा अधिविकर्ष कर्जा भने पाँच दशमलव चार प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।