काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ । त्रिविले आगामी माघ १ गतेदेखि लागू हुनेगरी स्वास्थ्य बिमा कार्यक्रममार्फत दिइँदै आइएको उपचार सेवा बन्द गरेको हो ।
विसं २०७७ देखि नियमित रूपमा सञ्चालन गर्दै आएको स्वास्थ्य बिमा कार्यक्रममार्फत गरिने उपचार सेवा माघ १ गतेदेखि लागू हुनेगरी बन्द गरिएको अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले जानकारी दिए । उनका अनुसार स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रममार्फत बिरामीको उपचार गरेबापतको भुक्तानी उपलब्ध नगराएपछि सेवा सञ्चालन गर्न नसकिएको हो । आन्तरिक स्रोतबाट अस्पतालले सबै किसिमका दैनिक खर्च व्यहोर्नुपर्ने हुँदा मासिक दुई करोड रुपैयाँ नोक्सान हुने भएपछि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न नसकिएको सूचना अधिकारी रोस्याराको भनाइ छ । स्वास्थ्य बिमाबाट उपचारमा आउने बिरामी सङ्ख्या तथा चाप दिनहुँ वृद्धि हुँदै गएको उनले जानकारी दिए । यसबाट मासिक पाँच करोड रुपैयाँ हाराहारीको खर्च हुनेमा बिमा बोर्डबाट ५० प्रतिशत मात्र दाबी स्वीकृति गरी बाँकी अस्वीकृत गर्दै आएको छ ।