काठमाडौं । काठमाडौँमा दुईदिने थारु राष्ट्रिय माघी महोत्सव हुने भएको छ । थारु समुदायको महान् पर्व माघीको अवसरमा पुस ३० र माघ १ गते काठमाडौँको टुँडीखेलमा महोत्सव हुन लागेको हो ।
महोत्सवबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका संयोजक प्रेमीलाल चौधरीले थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रीय समितिको संयोजन तथा ३० वटा थारु सङ्घसंस्थाको संयुक्त आयोजनामा थारु कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्नको लागी महोत्सव आयोजना गर्न लागिएको बताए । साथै महोत्सवले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने उनको भनाइ छ । माघी पर्व थारु समुदायका लागि नयाँ वर्ष, सामाजिक नेतृत्व चयन, सांस्कृतिक समीक्षा र स्वतन्त्रताको प्रतीकका रूपमा रहेको छ । अध्यक्ष थारुका अनुसार महोत्सवका प्रमुख आकर्षणमा थारु समुदायको सांस्कृतिक झाँकीसहित ¥याली, मूल उद्घाटन समारोह, विभिन्न थारु सांस्कृतिक प्रस्तुति, थारु खानाका परिकारको प्रदर्शनी तथा बिक्री, सीप र हस्तकला, पुस्तक प्रदर्शनी, मोटरसाइकल र्याली, ‘जिता मर्ना’ तथा विशिष्ट थारु व्यक्तित्वको सम्मान कार्यक्रम समावेश छन् ।
महोत्सवमा करिब सयवटा स्टल रहनेछन् । स्टलमार्फत ढिक्री, घोङ्गी, खिँचरी, तिलको लड्डु, सुँगुरको मासु, अन्डिक भात, गङ्गटो, सिँधरा, आलुसिन्की, बयरको चटनीलगायत परम्परागत थारु खानाका परिकार उपलब्ध गराइने आयोजकले जनाएको छ । थारु समुदायले माघी पर्वलाई माघ/माघी/तिला सङ्क्रान्ति/खिँचरा/खिँचरीका नामले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हर्षोल्लासका साथ मनाउँदै आएका छन् । काठमाडौँमा विसं २०५९ सालदेखि थारु कल्याणकारिणी सभाको अगुवाइमा माघी महोत्सव मनाइँदै आएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार थारु जाति नेपालको चौथो ठूलो जाति हो । २६ जिल्लामा फैलिएको थारु समुदायको जनसङ्ख्या १८ लाख सात हजार एक सय २४ अर्थात् कुल जनसङ्ख्याको ६.२ प्रतिशत रहेको छ ।