काठमाडौं । सरकारले आगामी माघ २ गते देशभर २८औँ भूकम्प सुरक्षा दिवस मनाउने तयारी गरेको छ । ‘सबै तहका सरकार, सबै नागरिकको तयारी, भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ भन्ने मूल नाराका साथ दिवस देशव्यापी रूपमा मनाइने भएको छ ।
सहरी विकास तथा भवन निर्माण विभागले सोमबार पत्रकार सम्मेलन गरी दिवसको मूल समारोह काठमाडौँ महानगरपालिकास्थित खुलामञ्चमा आयोजना गरिने जानकारी( दिएको हो । विभागका महानिर्देशक इ. रविन्द्र बोहराका अनुसार भूकम्प सुरक्षा र्याली बसन्तपुरबाट सुरु भई आकाशभैरव, इन्द्रचोक र असन हुँदै खुलामञ्चमा पुग्नेछ । र्यालीपछि प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रम सञ्चालन हुने उनले बताए । सोही अवसरमा खुलामञ्चमा दुईदिने भूकम्प सुरक्षा प्रदर्शनी आयोजना गरिने छ । प्रदर्शनीमा विपद् जोखिम न्यूनीकरण क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी सङ्घसंस्थाहरूको सहभागिता रहने विभागले जनाएको छ ।
भूकम्प सुरक्षा दिवसका अवसरमा प्रदेश, जिल्ला र स्थानीय तहमा गोष्ठी, अन्तरक्रिया, सचेतनामूलक कार्यक्रम, र्याली, प्रदर्शनी, प्रतियोगिता, रक्तदान, सडक नाटक तथा अडियो–भिडियो सामग्रीमार्फत जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने छ । यसका लागि सबै सरकारी कार्यालय तथा सुरक्षा निकायलाई निर्देशन दिइसकिएको विभागले जनाएको छ । महानिर्देशक बोहराले भूकम्पका बेला हुने ठूलो जनधनको क्षति कमजोर संरचना भत्किँदा हुने भएकाले सुरक्षित भवन निर्माण नै सबैभन्दा प्रभावकारी पूर्वतयारी भएको बताए । उनले राष्ट्रिय भवन संहिता पूर्ण रूपमा कार्यान्वयन गर्न तथा नयाँ निर्माण र पुराना घरको प्रबलीकरणमा भूकम्प प्रतिरोधी मापदण्ड अनिवार्य लागू गर्नुपर्नेमा जोड दिए । विभागका अनुसार भवन संहिता कार्यान्वयन, प्राविधिक तालिम, अनुगमन तथा अनुसन्धानलाई तीव्र बनाइएको छ । काठमाडौँ उपत्यकाका सात स्थानीय तहमा ‘बिल्डिङ स्ट्रक्चर वर्कफ्लो’ पाइलट परीक्षण सफल भएपछि देशभर नक्सा पास प्रणालीलाई एकीकृत रूपमा लागू गर्ने तयारी भइरहेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प तथा अन्य विपद्बाट प्रभावित परिवारलाई सुरक्षित आवासका लागि अनुदान तथा प्राविधिक सहयोग प्रदान गर्ने कार्यविधि कार्यान्वयनमा ल्याएको छ । साथै, आपतकालीन सामग्री भण्डारण, खोज तथा उद्धार, पुनर्निर्माण र पुनःस्थापनासम्बन्धी कार्य निरन्तर अघि बढाइँदै आएको विभागले जनाएको छ । सरकारले भूकम्प जोखिम न्यूनीकरणलाई राष्ट्रिय प्राथमिकतामा राख्दै सुरक्षित निर्माण, पूर्वतयारी, प्रतिकार्य र पुनस्थापनालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित भूकम्प सुरक्षा दिवस मनाउन लागिएको जनाएको छ ।