काठमाडौं । हुण्डाई नेपालले २०२६ का लागि आफ्नो रणनीतिक प्राथमिकता सार्वजनिक गरेको छ । कम्पनीले ग्राहकको विश्वास, उन्नत प्रविधि र ग्राहक–केन्द्रित मोबिलिटीमा केन्द्रित रहने घोषणा गरेको हो ।
कम्पनीले देशभर विस्तार भइरहेको डिलर तथा सेवा नेटवर्कमार्फत दीर्घकालीन स्वामित्व अनुभवलाई बलियो बनाउने लक्ष्य राखेको जनाएको छ । कम्पनीले कम्प्याक्ट ह्याचब्याकदेखि प्रिमियम एसयूभी र विद्युतीय सवारीसाधनसम्मको विस्तृत मोडेल दायरा उपलब्ध गराउँदै आएको छ, यसले विभिन्न वर्गका उपभोक्ताको आवश्यकता पूरा गर्दै आएको जनाइएको छ । कम्पनीले नेपाली सडक र भौगोलिक अवस्थाअनुसार अनुकूलित विश्वस्तरीय मोडेलहरू भित्र्र्याउँदै बिक्रीपछिको सेवा, जेन्युइन पाट्र्स र प्राविधिक तालिममा निरन्तर लगानी गरेको जनाएको छ ।
विद्युतीय सवारीसाधन क्षेत्रमा कम्पनी अग्रनी भूमिकामा रहेको दाबी गर्दै क्रेटा इभी र कोना इलेक्ट्रिकजस्ता मोडेलमार्फत स्वच्छ, किफायती र दिगो मोबिलिटी प्रवर्द्धन गरिरहेको बताइएको छ । कम्पनीका अनुसार यी मोडेलहरूले प्रदर्शन र ऊर्जा दक्षताबीच सन्तुलन प्रदान गर्छन् । ‘
हुण्डाई नेपाली उपभोक्ताका लागि केवल कार ब्रान्ड होइन, दीर्घकालीन मोबिलिटी साझेदार हो । आगामी वर्षमा पनि हामी उन्नत प्रविधि, भरपर्दो स्वामित्व अनुभव र ग्राहकका लागि वास्तविक मूल्य प्रदान गर्न प्रतिबद्ध छौँ’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीले नवप्रवर्तन, सुरक्षा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै २०२६ र त्यसपछिका वर्षहरूमा पनि नेपाली अटोमोबाइल बजारमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउने जनाएको छ ।