काठमाडौं । नेपाल अटोमोबील इम्पोर्टर्स एन्ड म्यान्यूफ्याकचरर्स एसोसिएसन (नाईमा) र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच पाँच वर्षे दीर्घकालीन रणनीतिक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं उपत्यकाका एक हजार छ सय ५१ जना ट्राफिक प्रहरीहरूलाई व्यवहारकुशल सीपहरू तथा नयाँ सवारी प्रविधिसम्बन्धी विषयमा नियमित तालिम प्रदान गर्नेसम्बन्धी रणनीतिक सम्झौतामा हस्ताक्षर भएको हो । ट्राफिक प्रहरीलाई आधुनिक ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, सेवा–केन्द्रित व्यवहार, जोखिम न्यूनीकरण तथा प्रविधिमैत्री अभ्याससम्बन्धी विषयमा निरन्तररूपमा अद्यावधिक बनाउँदै नागरिकसँगको दैनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन तालिम प्रदान गरिने जनाईएको छ । ट्राफिक सप्ताह २०८२ अन्तर्गत ‘सडक दुर्घटना न्यूनीकरण विशेष अभियान’ उद्घाटन कार्यक्रमको अवसरमा उक्त समझदारी भएको हो । सम्झौतामा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र नाइमाका बोर्ड सदस्य सौरभ ज्योतिबीच सम्झौता आदान–प्रदान गरिएको थियो ।
समझदारीअनुसार नाइमाले आफ्ना सदस्य कम्पनीहरूको विशेषज्ञता उपयोग गर्दै नयाँ सवारी प्रविधि, सडक सुरक्षा, नवीन प्रविधिको प्रयोग तथा सवारी/यातायात प्रणालीसँग सम्बन्धित प्राविधिक विषयहरूमा आवश्यक तालिम सामग्री, प्राविधिक स्रोत, विशेषज्ञ सहजीकरण तथा समन्वय उपलब्ध गराउनेछ । यसैगरी, ट्राफिक कार्यालयले तालिम कार्यक्रमको प्राविधिक नेतृत्व, सहभागी व्यवस्थापन, अनुगमन तथा गुणस्तर सुनिश्चितता गर्नेछ । समझदारी कार्यान्वयन अन्तर्गत पहिलो चरणको तालिम माघ ४ गते आइतबारदेखि सुरु हुनेछ । तालिम १७ कार्यदिन निरन्तर सञ्चालन हुने र प्रत्येक सत्रमा एक सय जना ट्राफिक प्रहरी सहभागी हुने व्यवस्था गरिएको छ । तालिममा तनाव व्यवस्थापन÷ध्यान, सञ्चार तथा द्वन्द्व व्यवस्थापन, नयाँ सवारीसाधन प्रविधिको सैद्धान्तिक एवं प्रत्यक्ष अवलोकन सत्र, ट्राफिक व्यवस्थापनका व्यावहारिक अभ्यास, सडक दुर्घटना न्यूनीकरण, तथा ट्राफिक व्यवस्थापनमा आवश्यक ह्यान्ड–जेस्चर सीपलगायत विषय समेटिएका छन् ।
तालिमको सहजीकरणका लागि इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोक क्याम्पस तथा थापाथली क्याम्पसका प्राध्यापकहरू, जीवन विज्ञानका प्रशिक्षकहरू, नाइमकाका सदस्य कम्पनीका प्राविधिक विज्ञहरू, साथै आवश्यकताअनुसार अन्य स्वतन्त्र विषय विज्ञहरू सहभागी हुनेछन् । यस्तै, तालिमका केही महत्वपूर्ण सत्रहरू ट्राफिक प्रहरी प्रमुख र वरिष्ठ ट्राफिक प्रहरी अधिकृतहरूले समेत लिनेछन् । विषयगत प्रस्तुति, व्यावहारिक अवलोकन, अन्तरक्रिया, र श्रव्य दृश्य अवलोकन तालिमको मुख्य ढाँचा रहनेछ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ ट्राफिक प्रहरी उपरीक्षक नवराज अधिकारीले नयाँ सवारी प्रविधि र जनसम्पर्क–केन्द्रित सेवाका विषयमा ट्राफिक प्रहरीलाई निरन्तर रूपमा शिक्षित बनाउनु अत्यन्त आवश्यक रहेको बताए ।
नाइमाका अध्यक्ष ऋतु सिंह वैद्यले संस्थाको दृष्टिकोण गतिशिलतामार्फत विकासलाई सशक्त बनाउने रहेको बताइन् । सोहीअनुरूप सडक सुरक्षा प्रवर्द्धन, उपभोक्ता शिक्षा÷सचेतना, दक्ष मानवस्रोत विकास तथा नीति पैरवीमा संस्था निरन्तर सक्रिय रहेको उनको भनाइ थियो । यो दीर्घकालीन सहकार्यले ट्राफिक प्रहरीको क्षमता विकासमार्फत सडक सुरक्षा सुदृढ गर्दै नागरिकमैत्री सेवा प्रवाह सुधार गर्न महत्वपूर्ण योगदान पुर्याउने उनको विश्वास छ । नाइमाका बोर्ड सदस्य सौरभ ज्योतिले यो दीर्घकालीन तालिम कार्यक्रम सडक सुरक्षा, जनचेतना तथा पूर्वाधार सुदृढीकरणसँग प्रत्यक्ष जोडिएको बताए । उनले यसले सुरक्षित सडक संस्कृतिको विकाससँगै मानवस्रोत सुदृढीकरण मार्फत दीगो मोबिलिटी प्रवद्र्धनमा योगदान पुर्याउने उल्लेख गरे ।
नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले तालिम कार्यक्रमले नयाँ तथा उदीयमान सवारी प्रविधिबारे सहभागीलाई अभिमुखीकरण गर्ने मात्र नभई दैनिक सेवा प्रवाहमा आवश्यक व्यवहारकुशल सीपहरू समेत सुदृढ गर्ने गरी तयार गरिएको बताए । आवश्यकता र मागअनुसार आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने उनले जानकारी दिए ।