सिमलताल बस दुर्घटनापछि बेपत्ता भएको ‘गणपति डिलक्स’ बस अन्ततः त्रिशूली नदीको किनारमा फेला परेको छ। तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–५ दोद्राङ बेसी नजिकै त्रिशूली नदी किनारमा बालुवाले पुरिएको अवस्थामा उक्त बसका पार्ट्सपुर्जा फेला परेपछि खोजी तीव्र पारिएको थियो। सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवन र नम्बर २३ मनकामना गण भानु तनहुँबाट खटिएको संयुक्त टोलीले खोजीका क्रममा ‘गणपति डिलक्स’ लेखिएको गाडी पहिचान गर्न सफल भएको हो। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले गाडीको पार्ट्स र चिनारीका आधारमा बस पहिचान गरिएको जानकारी दिएका छन्। उक्त बस काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स हो। यही दिन वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स पनि चितवनको सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएको थियो। २०८१ असार २८ गते बिहान पहिरोले दुईवटा बस एकैपटक नदीमा पुरिँदा ठूलो मानवीय क्षति भएको थियो। गणपति डिलक्समा सवार ३१ जनामध्ये तीन जनाले हाम फालेर ज्यान जोगाएका थिए भने २८ जना बेपत्ता भएका थिए। तीमध्ये हालसम्म १४ जनाको शव फेला परिसकेको छ भने अन्य यात्रुको खोजी अझै जारी छ। बस फेला परेपछि दुर्घटनाको वास्तविक अवस्थाबारे थप प्रमाण संकलन गर्न सहज हुने सुरक्षा निकायले जनाएको छ। साथै बेपत्ता यात्रुको खोजी तथा पहिचानमा पनि यसले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।