नेपाली कांग्रेसभित्र चुलिँदै गएको आन्तरिक विवाद समाधान गर्न बसेको त्रिपक्षीय वार्ता सभापति शेरबहादुर देउवाको राजीनामाको विषयमा सहमति नजुट्दा स्थगित भएको छ। विशेष महाधिवेशन पक्षधर समूहले देउवाले राजीनामा दिनुपर्ने वा सक्रिय राजनीति छोडेको घोषणा गर्नुपर्ने अडान राखेपछि बैठक निष्कर्षविहीन बनेको हो। वार्तामा सहभागी एक नेताका अनुसार अन्य अधिकांश विषयमा सहमति नजिक पुगे पनि नेतृत्वको राजीनामा र राजनीतिक विश्रामको विषयमा भने कुरा मिल्न सकेन। ‘अरु विषयमा खासै समस्या रहेन, तर नेतृत्वले राजीनामा दिने वा राजनीति छोड्ने भन्ने विशेष पक्षको मागमा सहमति जुट्न सकेन,’ ती नेताले भने, ‘यस विषयमा थप संवाद आवश्यक भएकाले बैठक एक घण्टाका लागि स्थगित गरिएको हो।’ वार्तामा बसेका नेताहरूले यो विषय आफूहरूले मात्रै निर्णय गर्न नसक्ने भन्दै अब शीर्ष नेताहरूसँग थप परामर्श गर्ने सहमति गरेका छन्। देउवाको राजीनामा वा राजनीतिक निष्क्रियताबारे अन्तिम निर्णय शीर्ष नेतृत्वसँग छलफलपछि मात्र हुने जनाइएको छ। त्रिपक्षीय वार्तामा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, मधु आचार्य, देवराज चालिसे र गुरुराज घिमिरे सहभागी थिए। सभापति देउवाको पक्षबाट बालकृष्ण खाण र रमेश लेखक सहभागी थिए भने शेखर कोइरालाको पक्षबाट सहमहामन्त्री जीवन परियार वार्तामा थिए। कांग्रेसभित्रको गहिरिँदो विवाद समाधान गर्ने उद्देश्यले सुरु गरिएको यो वार्ता देउवाको नेतृत्वको भविष्यमा अड्किँदा पार्टीभित्रको राजनीतिक तनाव अझ बढ्ने संकेत देखिएको छ।