काठमाडौं । सरकारले साना दरका भारतीय रुपैयाँ पनि अबदेखि भारत लैजान पाइने व्यवस्था गरेको छ । राजपत्रमा सूचना प्रकाशन गर्दै नेपाली र भारतीय नागरिक समेतले नेपालबाट भारतमा एक सयभन्दा साना दरका भारु नोट तथा सिक्का आवश्यकताअनुसार लान सक्ने व्यवस्था गरेको हो ।
यो व्यवस्थापश्चात् अबदेखि दुवै देशका नेपालमा रहेका नागरिकहरुले साना मात्र नभई दुई सय र पाँच सय दरका भारु पनि तोकिएको सीमाभित्र रहेर ल्याउन र लैजान सकिनेछ । यसअघि सरकारले ठूला दरका भारु पनि नेपालमा प्रयोग गर्न सकिने निर्णय गरेको थियो । त्यसलाई औपचारिकताका लागि राजपत्रमा सूचना प्रकाशित गरेको हो । त्यसभन्दा भारतले नेपाली नागरिकले २५ हजारसम्मका ठूला दरका नोट ल्याउन लैजान सक्ने व्यवस्था गरेसँगै नेपालले पनि ल्याउन सक्ने व्यवस्था गरेको हो ।
यसैगरी सरकारले नेपाली र भारतीयले नेपालबाट भारतमा सुन, चाँदी वा मिश्रित चाँदीका नेपाली सिक्काबाहेक अन्य नेपाली र भारतीय सिक्का, करेन्सी नोट र बैंक नोट असीमित मात्रामा लैजान वा पठाउन सक्ने व्यवस्था पनि गरेको छ ।