काठमाडौं । हायात प्लेस बुटवल’ले आधिकारिकरूपमा आफ्नो सेवा सुरु गरेको घोषणा गरेको छ । यो बुटवल सहरकै पहिलो अन्तर्राष्ट्रिय ब्रान्डको पाँचतारे होटल हो । यो सुरुवातले बुटवलको बढ्दो आर्थिक र पर्यटकीय महत्वलाई उजागर गर्नुका साथै तीव्र विकासको पथमा रहेको यहाँको बजारमा विश्वस्तरीय हस्पिटालिटीको मापदण्ड स्थापित गरेको छ ।
होटलले हालै आफ्नो भव्य ओपनिङ समारोह ‘न्यु इयर्स इभ अन्डर द स्टार्स’को सफल आयोजनासँगै सहरको सामाजिक र जीवनशैलीमा बलियो छाप छोडिसकेको छ । उक्त कार्यक्रममा प्रतिष्ठित व्यवसायी, सामाजिक व्यक्तित्वहरू र सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो, जसले ह्यात प्लेस बुटवलको विश्वस्तरीय कार्यक्रम र अनुभवहरू प्रदान गर्ने क्षमतालाई पुष्टि गरेको छ । हायात प्लेस बुटवलका जनरल म्यानेजर तुषार नगरका अनुसार बुटवल अब प्रिमियम जीवनशैलीको अनुभव गर्न तयार छ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु र यहाँको तीव्र औद्योगिक विस्तारले अन्तर्राष्ट्रिय स्तरको आवासको माग ह्वात्तै बढाएको उनले बताए । ह्यात प्लेस बुटवलले व्यापारिक यात्री, पर्यटक र यस क्षेत्रको विस्तारित व्यापारिक इकोसिस्टमलाई सेवा दिँदै त्यही अभावलाई पूरा गर्ने लक्ष्य राखेको छ ।
महेन्द्र राजमार्ग (एसियन हाइवे) र सिद्धार्थ राजमार्गको संगममा रणनीतिकरूपमा अवस्थित बुटवल, एक ’ट्रान्जिट सहर’ बाट व्यापारिक र औद्योगिक पावरहाउसमा तीव्ररूपमा रूपान्तरण हुँदैछ । अन्तर्राष्ट्रिय हवाई सम्पर्क, विस्तारित औद्योगिक क्षेत्र र रणनीतिक राजमार्गको पहुँचका कारण बुटवल व्यापार, पर्यटन र पारवहन जोड्ने पश्चिम नेपालको सबैभन्दा महत्वपूर्ण सहर बन्दै गएको हो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनले सीमापार व्यापार, लगानी र पर्यटनलाई बढावा दिँदै यो गतिलाई थप तीव्र बनाएको छ । लुम्बिनी प्रदेशभरि उद्योग र कलकारखाना विस्तार भएसँगै बुटवल कर्पोरेट गतिविधि र व्यापारिक यात्राको लागि मुख्य केन्द्र बन्दै गएको छ । यस रूपान्तरणलाई सहयोग गर्दै हायात प्लेस बुटवलले कर्पोरेट बसाइ, उच्चस्तरीय बैठक, सम्मेलन र नेटवर्किङका लागि सहरकै पहिलो अन्तर्राष्ट्रिय स्तरको गन्तव्य प्रदान गरी यस क्षेत्रको हस्पिटालिटीलाई नयाँ परिभाषा दिएको छ । व्यापारिक र मनोरञ्जनका लागि भ्रमण गर्ने दुवै थरीका यात्रीहरूका लागि ह्यात प्लेस बुटवल पश्चिम नेपालको उत्कृष्ट प्रवेशद्वार हो ।