काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त अवस्थामा रहेको क्षेत्रीयस्तरको कर्णाली डेभलपमेन्ट बैंकलाई पुनर्संरचना गर्ने तयारी गरेको छ । सञ्चालकहरूको बदमासीका कारण समस्याग्रस्त अवस्थामा पुगेको यो बैंकलाई अहिले राष्ट्र बैंककै तीन सदस्यीय व्यवस्थापन समितिले हेर्दै आएको छ । बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा वित्तीय संस्था सुपरीपेक्षण विभागका उपनिर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक जुगल किशोर कुशवाहासहित तीन जनाले बैंकको व्यवस्थापन हेर्दै आएका छन् ।
राष्ट्र बैंकले विसं २०८१ पुस ११ गते व्यवस्थापन हस्तक्षेप गरेको यो बैंकमा अहिले पनि करोडौँ रुपैयाँ निक्षेप नदेखिएकाले निक्षेपकर्ताहरूको रकम फिर्ता गर्न नसक्ने अवस्थामा रहेको यो बैंकलाई पुनर्संरचना गर्नको लागि राष्ट्र बैंकले तीनवटा विकल्प अघि सारेको छ । यी तीन विकल्पहरूमा बैंकको चुक्ता पुँजी बढाउने, निक्षेपकर्ताहरूको निक्षेप रकमलाई सेयरमा रूपान्तरण गर्ने र नयाँ लगानीकर्ता भित्र्याउने विकल्प राष्ट्र बैंकले अघि सारेको हो । समस्याग्रस्त अवस्थामा रहेको बैंकको चुक्ता पुँजी अहिले करोड ३२ लाख रुपैयाँ रहेको छ ।
राष्ट्र बैंकले अहिले उक्त बैंकको नयाँ लगानीकर्ताहरू भित्र्याएर चुक्ता पुँजी चार अर्ब रुपैयाँ पुर्याउने र राष्ट्रियस्तरको विकास बैंकको रूपमा रुपान्तरण गर्ने समेतको दीर्घकालीन योजना अघि सारेको छ ।