काठमाडौं । अधिक तरलताको समस्याबाट पिरोलिएका वाणिज्य बैंकहरूले माघ महिनाको लागि ब्याजदर झनै घटाएका छन् । बैंकिङ क्षेत्रमा अहिले नयाँ कर्जाको माग भएको छैन । यसले गर्दा बैंकिङ क्षेत्रमा अहिले अधिक तरलताको समस्या रहेको छ ।
यो अवस्थामा राष्ट्र बैंकले दैनिकजसो एकवर्षे अवधिको ऋणपत्र जारी गरेर हालसम्म एक खर्ब ६० अर्ब रुपैयाँभन्दा बढी रकम बैंकिङ क्षेत्रबाट खिचिसकेको छ । तर अझै पनि अधिक तरलता नियन्त्रण हुन सकेको छैंन । यसको असर अहिले वाणिज्य बैंकहरूको ब्याजदरमा देखिएको छ । बैंकहरूले माघ महिनाको लागि सार्वजनिक गरेको ब्याजदर तालिकाअनुसार सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याज चार दशमलव ६९ प्रतिशत रहेको छ ।
यो ब्याजदर पुस महिनाको तुलनामा शून्य दशमलव १४ प्रतिशतले कम हो । पुस महिनामा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपतर्फको औसत ब्याज चार दशमलव ८३ प्रतिशत रहेको थियो । माघ महिनामा आठ वटा वाणिज्य बैंकले पुस महिनाकै ब्याजलाई निरन्तरता दिएका छन् । यसरी निरन्तरता दिनेमा नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंकसहितका आठवटा बैंकहरू रहेका छन् । यीबाहेकका ११ वटा बैंकहरूले भने ब्याजदर पुस महिनाको तुलनामा घटाएका छन् भने प्राइम कमर्सियल बैंकले ब्याजदर केही बढाएको छ ।
वाणिज्य बैंकहरूले सार्वजनिक गरेको ब्याजदरसम्बन्धी तालिकाअनुसार नबिल बैंकले माघ महिनाको लागि चार दशमलव ५५ प्रतिशत ब्याजदर तोकेको छ । पुस महिनामा पनि नबिलको ब्याजदर सोही अनुुपातमा रहेको थियो । नेपाल इन्भेष्टमेन्ट मेगाले माघको लागि पुस महिनाकै ब्याजदर पाँच प्रतिशतलाई निरन्तरता दिएको छ । माछापुच्छे«, हिमालयन, नेपाल एसबीआई र एभरेष्ट बैंकले भने माघ महिनाको लागि क्रमशः चार दशमलव पाँच, पाँच, चार दशमलव ४० र चार दशमलव ४० प्रतिशत ब्याज तोकेका छन् । पुस महिनामा पनि यी बैंकहरूको यस्तो ब्याजदर क्रमशः पाँच, पाँच दशमलव ५५, चार दशमलव ५५, चार दशमलव ५५ र चार दशमलव ७५ प्रतिशत रहेको थियो ।
एनआईसी एसिया, स्टान्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज र कुमारी बैंकले पनि माघ महिनाको लागि क्रमशः पाँच, चार दशमलव ३६, चार दशमलव पाँच र चार दशमलव ४३ प्रतिशत ब्याजदर कायम गरेका छन् । पुस महिनामा यी बैंकहरूको यस्तो ब्याजदर क्रमशः पाँच, चार दशमलव ६०, चार दशमलव ७५ र चार दशमलव ५३ प्रतिशत रहेको थियो । सिद्धार्थ, सानिमा, एनएमबी र प्रभु बैंकले पनि माघ महिनाको लागि क्रमशः चार दशमलव ५५, चार दशमलव ५५, पाँच र चार दशमलव ५५ प्रतिशत ब्याजदर तोकेका छन् । पुस महिनाको लागि यी बैंकहरूको यस्तो ब्याजदर क्रमशः पाँच, चार दशमलव ७५, पाँच र चार दशमलव ५५ प्रतिशत तोकिएको थियो ।
ग्लोबल आईएमई, सिटिजन्स र प्राइम कमर्सियल बैंकले भने माघ महिनाको लागि क्रमशः पाँच दशमलव ५०, चार दशमलव पाँच र चार दशमलव ४० प्रतिशत ब्याजदर तोकेका छन् । पुस महिनामा यी बैंकहरूको यस्तो ब्याजदर क्रमशः पाँच दशमलव ५०, चार दशमलव ७५ र चार दशमलव २५ प्रतिशत तोकिएको थियो । कृषि विकास, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले भने माघ महिनाको लागि क्रमशः चार दशमलव ४०, पाँच दशमलव १० र पाँच प्रतिशत ब्याज तोकेका छन् । पुस महिनामा यी बैंकहरूको यस्तो ब्याजदर क्रमशः चार दशमलव ५५, पाँच दशमलव १० र पाँच प्रतिशत रहेको थियो ।