काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको ३८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले यही मंसिर ३० गते बुधबार कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभामा अध्यक्षले समिक्षा वर्ष २०८१/८२ मा विविध चुनौतिको बाबजुद विश्व अर्थतन्त्र लचिलो स्थितिमा नै रहेको र कोभिड महामारी एवं भूराजनैतिक कारणले बढेको विश्व मुद्रा स्थिति अहिले आएर घट्ने क्रममा रहेको कारणले विश्वका अधिकांश केन्द्रीय बैंकहरूले लचिलो मौद्रिक नीति अवलम्बन गरेको बताइन् । नेपालको राष्ट्रिय तथ्यांक कार्यालयको अनुमान अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धि दर चार दशमलव ६१ प्रतिशत रहेको अनुमान भए पनि आव २०८२/८३ मा बढ्दो राजनैतिक एवं सामाजिक अनिश्चितताको कारणले वृद्धिदर संकुचनमा जान सक्ने आकलन गरिएको अवस्थामा आव २०८१/०८२ मा कम्पनीको व्यवसाय सन्तोषनजनक रहेको अध्यक्ष सिंहले जानकारी दिइन् । कम्पनीको कुल बीमा शुल्क १० दशमलव २६ प्रतिशतले बढेर २,२५९.३७ करोड पुगेको छ । समीक्षा वर्षको सञ्चालनबाट जम्मा १,४९८.५९ करोड रुपैयाँ खुद थप रकम कुल बीमा करार दायित्वमा सारिएको छ र कुल बीमा करार दायित्व गत वर्षको तुलनामा १८.८३ प्रतिशतले वृद्धि भई वर्षान्तमा ९,४५८.७७ करोड रुपैयाँ पुगेको छ । यसै गरी कम्पनीले समीक्षा वर्षमा मृत्यु दावी, अवधि समाप्ती एवं आंशिक अवधि समाप्ती दाबी, समर्पण मूल्य, दाबी एंव अन्य दाबी भुक्तानीमा ९४८.६५ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
कम्पनीले आफ्ना सबै लगानी योग्य रकमहरू श्री नेपाल बीमा प्राधिकरणबाट निर्देशित क्षेत्रभित्र रहेर पारदर्शीता एवं प्रतिफलको हिसाबले अधिकतम दीर्घकालिन लगानीका औजारहरूमा लगानी गर्दै आएको र यसबाट बीमितहरूको अधिकतम हित संरक्षण हुनेमा कम्पनी विश्वस्त रहेको छ । कम्पनीको कुल लगानी समीक्षा वर्षमा ११.०४ प्रतिशतले वृद्धि भई वर्षान्तमा ७,७९०.२० करोड रुपैयाँ पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम लगानी गर्न कम्पनी प्रयासरत छ । कम्पनीको लगानीमा वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ र आव २०८१/०८२ मा सो दर ८.७६ प्रतिशत कायम रहेको छ ।
कम्पनीले आफ्नो लगानी विविधिकरण गर्न प्रयासरत रहेको र सोही क्रममा कम्पनीले आव २०८२/०८३ मा हिमालयन बैंक लि. को २,८०,१२,४४७.४५ कित्ता संस्थापक सेयर रु.३,३३,०१,१९,७५२/८५ मा खरीद गरेको र उक्त बैंकमा कम्पनीको सेयर स्वामित्व हिस्सा १३ दशमलव ६१ प्रतिशत पुगेको छ । यसै गरी कम्पनीले मर्चेन्ट बैंकरको रूपमा प्रवद्र्धन गरेको सहायक कम्पनी नेसनल क्यापिटल लि.ले आवश्यक इजाजतपत्र प्राप्त गरी सञ्चालनमा आएको छ र आव २०८१/०८२ को लागि पहिलो पल्ट सात प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले आफ्नो इटहरी शाखाको लागि आफ्नो स्वामित्वमा रहेको जग्गामा नयाँ आधुनिक व्यापारिक भवन निर्माण प्रक्रिया पनि अघि बढाएको छ । कम्पनीलाई प्रविधि मैत्री बनाउन यथाशक्य लगानी भइरहेको छ । यसैगरी कम्पनीमा कर्मचारीहरूलाई प्रशिक्षित गर्न आवश्यक प्राविधिक तालिम प्रदान गर्नमा कम्पनी केन्द्रित रहेको छ ।
कम्पनीले व्यवसायीक लक्ष्य र संस्थागत सामाजिक उत्तरदायित्वबीचको सन्तुलनलाई निरन्तरता दिई नियमनकारी निकायको निर्देशनअनुसार खुद नाफाको एक प्रतिशत बराबर रकम सामाजिक उत्तरदायित्व जगेडामा स्थानान्तर गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकअन्तर्गत कम्पनीले विशेष गरी स्वास्थय र शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको छ । यसै सन्दर्भमा समीक्षा वर्षमा कम्पनीले ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’ मा २५ लाख रुपैयाँ र केटाकेटीको स्वास्थ्य उपचार सम्बन्धी परियोजनाको लागि प्बतजmबलमग क्ष्लकतष्तगतभ या ऋजष्मि ज्भबतिज संस्थालाई २५ लाख रुपैयाँसमेत गरी कुल ७०,२५,५०० रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
सभाले आव २०८१/०८२ को लागि कम्पनीको अद्यावधिक चुक्ता पुजी ५,४७,२७,३९,७३६ रुपैयाँको ८.५ प्रतिशतका दरले नगद लाभांश ४६,५१,८२,८७८ रुपैयाँ र चार प्रतिशतका दरले बोनस सेयर लाभांश २१,८९,०९,५८९ रुपैयाँका साथै उक्त नगद एवं बोनस लाभांशमा कर प्रयोजनको लागि ३,६०,०४,८६७ रुपैयाँ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । नियामक निकायले जीवन बीमा कम्पनीको चुक्ता पुँजी पाँच अरब रुपैयाँ पुर्याउनुपर्ने बाध्यात्मक व्यवस्था गरेकोमा हाल कायम रहेको चुक्ता पुँजी ५,४७,२७,३९,७३६ रुपैयाँमा चार प्रतिशतको बोनस सेयर थप भई कुल चुक्ता पुजी ५,६९,१६,४९,३२५ रुपैयाँ पुगेको छ । सभामा अध्यक्ष सिंहले आउने दिनहरूमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी एक मुख्य बीमको रूपमा आम सर्वसाधारणको जीवन बीमाको आवश्यकता परिपूर्ती गर्नमा अग्रणी भूमीका निर्वाह गरिरहने विश्वास व्यक्त गरिन् ।