काठमाडौं । नेपालको दिगो विकास क्षेत्रमा योगदान पुर्याउँदै आएको संस्था बिल्ड अप नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) को प्रतिष्ठित जायद सस्टेनेबिलिटी पुरस्कार–२०२६ बाट सम्मानित भएको छ ।
पुरस्कार यूएईका राष्ट्रपति हिज हाइनेस शेख मोहम्मद बिन जायद अल नह्यानद्वारा अबुधाबी सस्टेनेबिलिटी वीकको उद्घाटन समारोहका क्रममा प्रदान गरिएको हो । बिल्ड अप नेपाललाई ‘क्लाइमेट एक्सन क्याटेगोरी’ अन्तर्गत पुरस्कार प्रदान गरिएको नेपाली दूतावास, अबुधाबीले जनाएको छ । सन् २००८ मा स्थापना भएको जायद सस्टेनेबिलिटी पुरस्कार यूएईका सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारमध्ये एक हो । यसले स्वास्थ्य, खाद्य, ऊर्जा, पानी, जलवायु कार्य र विश्वव्यापी विद्यालय क्षेत्रमा प्रभावकारी र दिगो समाधानहरूलाई सम्मान गर्दै आएको छ । पुरस्कार यूएईका संस्थापक स्व. शेख जायद बिन सुल्तान अल नह्यानको दिगो विकास, मानवतावादी मूल्य र अन्तर्राष्ट्रिय सहकार्यको दृष्टिको सम्मानस्वरूप स्थापना गरिएको हो ।
बिल्ड अप नेपाललाई कम कार्बन, भूकम्प प्रतिरोधी इको–इँटा उत्पादनमार्फत दिगो निर्माण क्षेत्रमा ल्याएको नवीनतम समाधानका लागि सम्मान गरिएको हो । संस्थाले हालसम्म ३३ लाख इको–इँटा उत्पादन, १२ हजारभन्दा बढी सुरक्षित आवास निर्माण, दुई हजार हरित रोजगारी सिर्जना, तथा एक लाख १० हजार टन कार्बन डाइअक्साइड उत्सर्जन न्यूनीकरण गर्न सफल भएको छ । यी इको–इँटाले निर्माण लागत घटाउनुका साथै भूकम्प जोखिमयुक्त क्षेत्रहरू—जस्तै जाजरकोट र पश्चिम रुकुम—मा सुरक्षित र दिगो आवास निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको छ । पुरस्कारले जलवायु परिवर्तन, विपत् सहनशीलता र दिगो विकासका क्षेत्रमा नेपालबाट भएका स्थानीय नवप्रवर्तनको विश्वव्यापी प्रभावलाई उजागर गरेको छ ।
पुरस्कार वितरण समारोहमा यूएईका लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीको उपस्थिति रहेको थियो । अबुधाबीस्थित नेपाली दूतावासले दिगो विकासमा बिल्ड अप नेपालको समर्पित प्रयास र योगदानको प्रशंसा गरेको छ । बिल्ड अप नेपालको तर्फबाट पुरस्कार व्यवस्थापकीय निर्देशक ब्योर्न सोडरबर्गले ग्रहण गरेका थिए ।