काठमाडौं । नेपाली खेलकुदको दिगो विकासमा योगदान गर्ने उद्देश्यले ‘पेसएक्स स्पोटर्स’ स्थापना भएको छ ।
बुधबार पत्रकार सम्मेलन गरी संस्थाको उद्देश्य, दृष्टिकोण र कार्यक्षेत्रबारे जानकारी दिइएको हो । प्रेस सम्मेलनमा संस्थाकी संस्थापक अध्यक्ष संगीता कर्णले नेपालमा खेलकुदको अपार सम्भावना हुँदाहुँदै पनि जरा तहमा प्रशिक्षणको अभाव, संरचित कार्यक्रम नहुनु, खेल शिक्षाप्रति न्यून चेतना र दीर्घकालीन दिगोपनको कमीजस्ता समस्या विद्यमान रहेको उल्लेख गरिन् । ती चुनौतीलाई सम्बोधन गर्ने लक्ष्यसहित ‘पेसएक्स स्पोटर्स’ अन्तिम तयारीको चरणमा पुगेको उनले बताइन् । संस्थाका अनुसार ‘पेसएक्स स्पोटर्स’ केवल प्रशिक्षण केन्द्रमा सीमित नरही खेलाडी, विद्यालय, समुदाय, निजी क्षेत्र र खेलकुदसँग सम्बन्धित निकायहरूलाई जोड्ने साझा मञ्चका रूपमा अघि बढ्नेछ । खेलकुदलाई शिक्षा, जीवनशैली र राष्ट्रिय विकासको अभिन्न अंगका रूपमा स्थापित गर्नु संस्थाको दीर्घकालीन लक्ष्य रहेको जनाइएको छ ।
संस्थाका सीईओ सौरव सिंहले विद्यालय तथा समुदायस्तरमै खेल प्रतिभा पहिचान, खेलाडीको शारीरिक, मानसिक र नैतिक विकास, विद्यालय–कलेज खेलकुद कार्यक्रम, कार्यस्थल आधारित खेलकुद तथा स्वास्थ्य कार्यक्रम र प्रतियोगिता तथा सामुदायिक संलग्नतालाई प्राथमिकता दिने बताए । ‘पेसएक्स स्पोटर्स’ले प्रशिक्षक, पूर्वखेलाडी, विद्यालय, खेल संघ–संस्था, स्थानीय तह, निजी क्षेत्र तथा सञ्चारमाध्यमसँग सहकार्य गर्दै दीर्घकालीन प्रभाव पार्ने खेलकुद इकोसिस्टम निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । संस्थाले युवा पुस्तामा लगानी गर्दै सक्षम खेलाडी उत्पादनका साथै स्वस्थ, अनुशासित र जिम्मेवार नागरिक निर्माणमा योगदान पुर्याउने जनाएको छ ।