काठमाडौं । काठमाडौं युरो स्कुलले न्यानो कपडा वितरण कार्यक्रमलाई निरन्तरता दिएको छ । बढ्दो चिसोका कारण बालबालिकाको दैनिकी र शिक्षामा असर नपरोस् भन्ने सामाजिक दायित्वका साथ स्कुलले न्यानो कपडा वितरणलाई निरन्तरता दिएको हो ।
काठमाडौं युरो स्कुल परिवारको आयोजनामा नुवाकोट जिल्लाको दुप्चेश्वर काउलेश्वरी माध्यमिक विद्यालय, सुर्यगढीस्थित कालिका माध्यमिक विद्यालय तथा लमजुङको पाणिनी माध्यमिक विद्यालयका करिब ७ सय जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको थियो । विद्यालयका अध्यक्ष प्रमोद पाण्डेले न्यानो कपडा वितरण गर्दै, न्यानोपनले बालबालिकालाई चिसोबाट जोगाउनुका साथै आत्मविश्वास र सकारात्मक सोचका साथ अघि बढ्न प्रेरणा मिल्ने बताए । यस मानवीय अभियानमा काठमाडौं युरो स्कुलका अभिभावक, विद्यार्थी, बाल क्लब तथा शिक्षक–कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो । विद्यालय प्रशासनका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूमा करुणा, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न सहयोग पुग्छ । काठमाडौं युरो स्कुलले शिक्षा सँगसँगै समाजसेवामूलक कार्यक्रमलाई निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएको छ ।