काठमाडौं । स्कोडाको नयाँ इन्ट्री–लेभल एसयूभी कायलाकले भारत एनक्याप क्र्यास टेस्टमा फाइभ–स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ । यससँगै स्कोडा इन्डियाले यात्रु सुरक्षाप्रतिको आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ । कायलाक भारत एनक्याप परीक्षणमा सहभागी हुने स्कोडाको पहिलो मोडल हो ।
भारत एनक्यापको मूल्यांकनअनुसार कायलाकले एडल्ट अक्युपेन्ट प्रोटेक्सनमा ३० दशमलब ८८ अंक र चाइल्ड अक्युपेन्ट प्रोटेक्सनमा ४५ अंक प्राप्त गरेको छ । यस नतिजाले कायलाकलाई आफ्नो सेग्मेन्टकै सबैभन्दा सुरक्षित एसयूभीमध्ये एक बनाएको छ । बाल सुरक्षातर्फ कायलाकले उल्लेखनीय प्रदर्शन गरेको छ । फ्रन्टल अफसेट बारियर टेस्टमा यसले १६ मध्ये १६ अंक (१०० प्रतिशत) प्राप्त ग¥यो । त्यस्तै, १ दशमलव ५ र ३ वर्षका बालबालिकाका लागि गरिएको साइड–मुभिङ डिफर्मेबल बारियर टेस्टमा पनि ८ मध्ये ८ अंक (१०० प्रतिशत) हासिल गरेको छ । रिकमेन्डेड चाइल्ड सीट असेसमेन्टमा पूर्ण अंक प्राप्त गरेको कायलाकले भेहिकल–बेस्ड मूल्यांकनमा १३ मध्ये ९ अंक (६९ प्रतिशत) पाएको छ । कायलाकको सबै भेरियन्टमा ६ एयरब्यागसहित २५ भन्दा बढी एक्टिभ र प्यासिभ सेफ्टी फिचर स्ट्यान्डर्ड रूपमा उपलब्ध छन् । यसले इन्ट्री–लेभल एसयूभी सेग्मेन्टमा सुरक्षा मापदण्डलाई थप उकासेको छ ।
यो उपलब्धिले स्कोडा कुशाक र स्लाभियाले ग्लोबल एनक्यापमा फाइभ–स्टार रेटिङ प्राप्त गरेको स्कोडाको सुरक्षा परम्परालाई निरन्तरता दिएको छ । स्कोडाले सुरक्षालाई ब्रान्डको केन्द्रीय मूल्यका रूपमा अघि बढाउँदै आएको बताइएको छ । सुरक्षासँगै कायलाकमा आधुनिक डिजाइन, आरामदायी इन्टेरियर र दैनिक प्रयोगमैत्री प्रविधिहरू समावेश गरिएको छ । फाइभ–स्टार भारत एनक्याप रेटिङले यसलाई परिवारमुखी ग्राहकका लागि थप विश्वासयोग्य विकल्प बनाएको छ । नेपालमा पनि स्कोडा कायलाकप्रति चासो बढ्दै गएको छ । आधिकारिक लन्चको प्रतीक्षामा रहेका ग्राहकहरूका लागि कायलाकले नेपाली इन्ट्री–लेभल एसयूभी बजारमा नयाँ सुरक्षा बेन्चमार्क स्थापित गर्ने अपेक्षा गरिएको छ । स्कोडा इन्डियाका अनुसार, कायलाकमार्फत कम्पनीले सुरक्षालाई वैकल्पिक सुविधा होइन, मुख्य प्राथमिकताका रूपमा प्रस्तुत गरेको छ ।