काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरूबीच हुने अल्पकालीन अवधिको कारोबार घटेको छ । यसलाई अन्तरबैंक कारोबार भनिन्छ । पछिल्लो समय कर्जाको माग घट्दा बैंकिङ क्षेत्रमा अधिक तरलता बढेको छ । यही कारण अन्तरबैंक कारोबारमा कमी आएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनामा वाणिज्य बैंक, विकास बैंक र फाइनान्ससहितका कुल ५४ वटा संस्थाहरूले चार खर्ब १७ अर्ब रुपैयाँबराबरको मात्र अन्तरबैंक कारोबार गरेका छन् । यीमध्ये वाणिज्य बैंकहरूको तीन खर्ब ४४ अर्ब ७१ करोड र अन्य विकास बैंक र फाइनान्स कम्पनीहरूले ७२ अर्ब २९ करोड रुपैयाँको कारोबार गरेका छन् ।
यो कारोबार रकम गत आवको सोही अवधिको तुलनामा दुई खर्ब ७० अर्ब ३६ करोड रुपैयाँले कम हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूले छ खर्ब आठ अर्ब ५५ करोड र विकास बैंक र फाइनान्स कम्पनीहरूले ७८ अर्ब ८१ करोड रुपैयाँ समेत गरी कुल छ खर्ब ८७ अर्ब ३६ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका थिए ।
राष्ट्र बैंकका अनुसार अन्तर बैंक कारोबार घटे पनि यसको असर ब्याजदरमा पनि परेको छ । सोअनुसार २०८१ मंसिरमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर दुई दशमलव ८५ प्रतिशत रहेकोमा २०८२ मंसिरमा उक्त दर दुई दशमलव ३७ प्रतिशत रहेको छ । बैंक तथा फाइनान्स कम्पनीबीचको भारित औसत अन्तरबैंक दर २०८१ मंसिरमा तीन प्रतिशत रहेकोमा २०८२ मंसिरमा दुई दशमलव ७४ प्रतिशत रहेको छ । गत मंसिरमा वाणिज्य बैंकहरूको औसत आधार दर पाँच दशमलव ३८ प्रतिशत, विकास बैंकहरूको सात दशमलव ६० प्रतिशत र फाइनान्स कम्पनीहरूको आठ दशमलव १९ प्रतिशत रहेको छ ।
२०८१ मंसिरमा वाणिज्य बैंकहरूको औसत आधार दर छ दशमलव ८२ प्रतिशत, विकास बैंकहरूको आठ दशमलव ६५ प्रतिशत र फाइनान्स कम्पनीहरूको नौ दशमलव ७७ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुुसार २०८२ मंसिरमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर तीन दशमलव ६६ प्रतिशत, विकास बैंकहरूको चार दशमलव २१ प्रतिशत र फाइनान्स कम्पनीहरूको पाँच दशमलव ३१ प्रतिशत रहेको छ । २०८१ मंसिरमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर चार दशमलव ७८ प्रतिशत, विकास बैंकहरूको पाँच दशमलव ७५ प्रतिशत र फाइनान्स कम्पनीहरूको छ दशमलव ७० प्रतिशत रहेको थियो ।
त्यसैगरी, गत मंसिरमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर सात दशमलव २६ प्रतिशत, विकास बैंकहरूको आठ दशमलव ४९ प्रतिशत र फाइनान्स कम्पनीहरूको नौ दशमलव ९१ प्रतिशत रहेको छ । २०८१ मंसिरमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर आठ दशमलव ९० प्रतिशत, विकास बैंकहरूको १० दशमलव २६ प्रतिशत र फाइनान्स कम्पनीहरूको ११ दशमलव ४८ प्रतिशत रहेको राष्ट्र बैंंकको भनाइ छ ।