काठमाडौं । सुदुरपश्चिम प्रदेशको कञ्चनपुरमा रहेको बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश चन्द्र रानाले प्रशासकिय अदालतलाई नचिन्ने अडान लिएको पाइएको छ ।
नेपाल सरकारले २०८२ साउन १४ गतेदेखि लागुहुने गरि प्रशासकिय अदालत ऐन २०७६ को दफा ७ बमोजिम कर्मचारीहरुको सबै सेवा सुविधा, उपदान, सरुवा, बढुवा, घटुवा जस्ता विषयहरुमा जिम्मेवारी अस्तान्तरण गरेर प्रशासकिय अदालतको आदेश अन्तिम हुने र सो अदालतको आदेश उपर सर्वोच्च अदालतमा दोहो¥याई पाउँ निवेदन मात्र लाग्ने प्रकृतिको व्यवस्था गरी सके पश्चात पनि प्रशासकिय अदालतबाट भएको आदेशको सरकारी अड्डा तथा जननिर्वाचित अध्यक्षबाटै उलंघन भएको पाइएको हो ।
गाउँपालिककाका अध्यक्ष हरिश चन्द्र रानाले आफ्नो गाउँपालिका अन्तर्गत वडा नं. २ मा रहेको श्री रौलेश्वर माध्यमिक विद्यालयका स्थायी गणित शिक्षक तथा प्रधानाध्यापक कृपाराम उपाध्यायलाई गणित विषयको राहत दरबन्दी भएको श्री गणेश मा.वि. मोहनपुर भुर्र्षा ५ मा दरबन्दी मिलान तथा व्यवस्थापन गर्ने नाउँमा गत असोज ९ गते बेलडाँडी गाउँ कार्यपालिकाको कार्यालयबाट निर्णय गराइ असोज ३१ गते सूचना प्रकाशित गरेर कार्तिक ११ गते हुलाक मार्फत उपाध्यायलाई सरुवाको पत्र थमाए पछि उपाध्यायले प्रशासकिय अदालतमा हालेको मुद्दा मार्फत सरुवा सम्बन्धी सम्पूर्ण कार्यहरु यथास्थितिमा राख्नु भनी पाएको आदेशलाई नटेरेको पाइएको हो ।
विद्यालयमा विभिन्न भवन मर्मत संभार तथा संचालनको नाममा आउने सरकारी राहतलाई आफ्नो अनुुकुलका आशेपाशेलाई ठेक्का दिन नपाएपछि रौलेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक उपाध्यायलाई ठेगान लगाउने बताउँदै सरुवा गरेका अध्यक्ष रानाले प्रशासकिय अदालतको गत कार्तिक २७ गते अध्यक्ष डा. टेक बहादुर घिमिरे तथा सदस्यहरु नवल किशोर यादव र आलोक चन्द्र श्रेष्ठ सम्मिलित इजलासले गरेको सरुवा बदरको निर्णयलाई नचिन्ने भन्दै अवहेलना गरेका हुन् ।
जननिर्वाचित अध्यक्षले नै कमिशनको लालचमा प्रशासकिय अदालतको आदेशलाई नै नचिन्ने र नमान्ने बताउँदै प्रधानाध्यापक उपाध्यायलाई प्रशासकिय अदालतको आदेश बमोजिम कामकाज गर्न रोक लगाएपछि अदालतको अबहेलनामा कारवाहीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएको पाइएको छ ।
सामान्यतया स्थायी शिक्षकलाई स्थायी दरबन्दी भएकै ठाउँमा र राहत शिक्षकलाई राहतमा नै सरुवा गर्ने गरेको भएपनि बेलाडाँडी गाउँपालिकाका अध्यक्ष रानाले बलमिच्याई गरेका हुन् ।
अध्यक्ष रानाले विद्यालयमा राजनीति घुसाउँदै गरिब जनताका छोराछोरी पढ्ने विद्यालयमा एसईई तयारी गर्नुपर्ने समयमा जटिल मानिने गणित विषयको शिक्षकलाई सरुवा गरेपछि श्री गणेश मा.वि.मा गणित विषयको कक्षा समेत रोकिएको छ ।
प्रशासकिय अदालतको आदेशपछि सरुवा रोकिएका उपाध्यायले श्री रौलेश्वर माध्यमिक विद्यालयमा नै हाजिरी गरेपछि श्री गणेश मा.वि. मा गणितको शिक्षण बन्द भएको हो । अदालतको आदेशमा सरुवा रोकिएर सोही विद्यालयमा नै हाजिर गर्दै आएका प्रधानाध्यापक उपाध्यायलाई भने गाउँपालिकाले अपमानजनक व्यवहार गर्दै कार्तिक देखि तलब सुविधा समेत बन्द गरेको छ ।
नेपालको संविधान र कानुन अनुसार न्याय सम्पादनका लागि स्थापित प्रशासकिय अदालतलाई नै लात हानेका अध्यक्ष रानाले यसअगि पनि ठेक्का पट्टा लगाएतमा कमिशन मोलमोलाई गर्ने गरेको आरोप लाग्दै आएको थियो ।
आफ्ना निकटहरुसंग ठुलो रकम खर्चिएर अध्यक्ष भएको भन्दै सो रकम उठाएर अर्को चुनावमा समेत पाटीलाई सहयोग गरी पुन केही न केही पदमा टिकेट लिन पर्ने भन्दै सोही सेटिङ मिलाउन गरीबका छोराछोरी पढ्ने विद्यालयमा समेत राजनीति घुसाएर कमिशनको लोभमा लथालिङ पार्न खोजेको आरोप अध्यक्षलाई लाग्ने गरेको छ ।
अध्यक्ष रानालाई लाग्ने गरेको आरोप र सम्मानित अदालतलाई नै नचिन्ने अडानको विषयमा प्रतिक्रिया लिन पटक पटक फोन सम्पर्क गर्दा उनी आर्थिक दैनिकको सम्पर्कमा आएनन् भने विद्यालय रहेको २ नम्बर वडा का वडाअध्यक्ष नारद सिंह उर्यालले भने प्रधानाध्यापक कृपाराम उपाध्याय माथी अन्याय भएको स्विकार गरेका छन् ।
आर्थिक दैनिकसंग प्रतिक्रिया दिँदै वडाअध्यक्ष अर्यालले इमान्दार सोझो शिक्षक उपाध्याय माथी बेलडाँडी गाउँपालिकाको कार्यपालीकाले पक्षपातपूर्ण निर्णय गरेकोले आफु चिन्तित रहेको र यो समाधान गर्नुपर्ने बताउँदै गाउँपालिकाको शिक्षा शाखा प्रमुखको भुमिका समेत शंकाष्पद रहेको बताए ।
प्रशाशकिय अदालतको आदेशपछि सरुवा रोकिएर बसेका शिक्षक उपाध्यायको कार्तिक देखि तलब सुविधा रोकिएको विषयमा कुरा गर्न गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकृष्ण वि.क.लाई पटक पटक फोन सम्पर्क गर्दा समेत उनी फोन सम्पर्कमा आएनन भने गाउँपालिकाका शिक्षण शाखा प्रमुख भानुभक्त जोशीले भने एसईई को समयमा गरिबका छोराछोरी पढ्ने विद्यालयमा गणित विषयको कक्षा बन्द गराएर किन राजनीति गर्नुभएको तपाई बच्चा पढ्ने विद्यालयमा यस्तै भयो भने के गर्नुहुन्छ भन्ने आर्थिक दैनिकको प्रश्न सुनेपछि फोन काटेर पुन पटक पटक फोन गर्दा समेत फोन नउठाई आफ्नो गल्ति लुकाउने प्रयास गरेका थिए ।