काठमाडौं । नेपाल बैंक लिमिटेडको ६६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले बुधबार काठमाडौँमा सञ्चालक समितिका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्माको अध्यक्षतामा बैंकको ६६औँ वार्षिक साधारणसभा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०८२ असार मसान्तको वित्तीय विवरणहरू पारित गरेको हो ।
सभाले आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको पारिश्रमिक, सेवा, सर्त र सुविधा
पारित गर्दै महालेखा परीक्षकको कार्यालयबाट परामर्श प्राप्त भएपश्चात् लेखापरीक्षक नियुक्त गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ । बैंकको नियमावलीको नियम ३१ मा भएको व्यवस्थाबमोजिम सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधासम्बन्धी व्यवस्थामा संशोधन गर्ने प्रस्ताव पारित गर्दै उक्त प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदानसमेत गरेको छ ।