तेहरान । केही खाडी मुलुकको पहलमा इरानमाथि अमेरिकी आक्रमणलाई तत्कालका लागि टारिएको बताइएको छ । साउदी अरब, कतार र ओमानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमाथि हुन लागेको आक्रमणबाट रोक्न प्रयास गरेको दाबी गरेका हुन् ।
नाम नबताउने सर्तमा खाडी क्षेत्रका कूटनीतिज्ञले भने, ‘तीन खाडी मुलुक साउदी अरब, कतार र ओमानले इरानलाई असल नियत देखाउने मौका दिन राष्ट्रपति ट्रम्पलाई मनाउन अन्तिम क्षणमा लामो कूटनीतिक प्रयासको नेतृत्व गरेका थिए ।’
‘प्राप्त विश्वास र वर्तमान राम्रो भावनालाई सुदृढ गर्न सञ्चार अझै जारी छ’, उनले थपे । यसअघि बुधबार कतारमा रहेको संयुक्त राज्य अमेरिकाको अल उदेइद सैन्य अखडा छाड्न केही सैनिकलाई आग्रह गरिएको दुई कूटनीतिक स्रोतले बुधबार एएफपीलाई बताएका थिए ।
वासिङ्टनले इरानी सरकारको विरोध प्रदर्शनको कारबाहीको जवाफ दिने धम्की दिएपछि यो निर्णय आएको थियो । तेहरानले नयाँ आक्रमण भएको खण्डमा अमेरिकी सेना र सामान ढुवानी गर्ने जल तथा स्थल यातायातका सानमाथि आक्रमण गर्ने बताएको थियो । ‘वर्तमान क्षेत्रीय तनावको प्रतिक्रियास्वरूप यस्तो कदम चालिएको हो’, कतारको अन्तर्राष्ट्रिय सञ्चार कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
कतारले सुरक्षाका लागि महत्वपूर्ण पूर्वाधार र सैन्य सुविधाहरूको सुरक्षासँग सम्बन्धित आवश्यक सबै उपायहरू अपनाएको छ । एक कूटनीतिक स्रोतले यसअघि एएफपीलाई बताएअनुसार बुधबार साँझसम्म कैयौँ सैनिकलाई सैन्य आधार छाड्न भनिएको थियो । एक दोस्रो स्रोतले पनि नाम नबताउने सर्तमा जानकारीको पुष्टि गर्यो ।
गत जुनमा अमेरिकाले इरानको आणविक केन्द्रमा गरेको आक्रमणको जवाफमा इरानले कतारस्थित अमेरिकी सैन्य अखडालाई निशाना बनाएको थियो । इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीका वरिष्ठ सल्लाहकार अली शामखानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘कुनै पनि आक्रमणको जवाफ दिन इरानको इच्छा र क्षमता’ आक्रमणद्वारा प्रदर्शन गर्न निर्देशन दिएको बताएका थिए । सन् १९७९को इस्लामिक क्रान्तिले मोहम्मद रेजा पल्लवीलाई नेतृत्वबाट अपदस्थ गरेपछि इरानमा गत बिहीबारदेखि भएको व्यापक प्रदर्शनले इस्लामिक धार्मिक नेतृत्वका लागि सबैभन्दा ठूलो चुनौती खडा गरेको छ ।
हवाइ क्षेत्र अस्थायी रूपमा बन्द
राष्ट्रव्यापी विरोध प्रदर्शनमाथि तेहरानले गरेको रक्तपातपूर्ण दमनका कारण संयुक्त राज्य अमेरिकासँग तनाव तीव्र बन्दै गएपछि इरानले बिहीबार बिहान कुनै स्पष्ट कारण नखुलाई व्यावसायिक उडानहरूका लागि आफ्नो हवाई क्षेत्र घन्टौँका लागि बन्द गरेको छ ।
प्रमुख पूर्व–पश्चिम अन्तर्राष्ट्रिय उडान मार्गमा पर्ने इरानले जारी गरेको पाइलट मार्गनिर्देशनअनुसार यो बन्द चार घण्टाभन्दा बढी समयसम्म कायम रह्यो । यस अवधिमा अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले इरानको आकाश मार्ग प्रयोग नगरी उत्तर र दक्षिणतर्फ उडान डाइभर्ट गरे । पछि बन्द अवधि समाप्त भएको संकेत देखिएको छ र बिहान ७ बजेपछि धेरैजसो आन्तरिक उडानहरू पुनः सञ्चालनमा आएका थिए ।
यसअघि पनि इरानले जुन महिनामा इजरायलसँग भएको १२ दिने युद्ध तथा इजरायल–हमास युद्धका क्रममा इजरायलसँगको गोलीबारीपछि आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो । तर यस पटक कुनै प्रत्यक्ष सैन्य भिडन्तको स्पष्ट संकेत नदेखिए पनि इरान विश्वव्यापी उड्डयनका लागि अत्यन्तै महत्त्वपूर्ण मार्गमा पर्ने भएकाले बन्दको असर तुरुन्तै अन्तर्राष्ट्रिय स्तरमा देखिएको हो ।
‘धेरै एयरलाइन्सहरूले पहिले नै आफ्ना सेवाहरू घटाइसकेका वा निलम्बन गरेका छन् र अधिकांश क्यारियरहरूले इरानी हवाइ क्षेत्रबाट जोगिन थालेका छन्’, द्वन्द्व क्षेत्र र हवाइ यात्रासम्बन्धी जानकारी प्रदान गर्ने वेबसाइट सेफएयरस्पेसले भनेको छ, ‘यस अवस्थाले थप सुरक्षा वा सैन्य गतिविधिको स्केत गर्न सक्छ, जसमा मिसाइल प्रक्षेपण वा हवाइ प्रतिरक्षा प्रणालीको गतिविधि बढ्ने जोखिम रहन्छ । यस्तो परिस्थितिले नागरिक विमानलाई गलत रूपमा लक्ष्य ठानिने खतरा पनि बढाउँछ ।’
विगतमा इरानले व्यावसायिक विमानलाई शत्रुतापूर्ण लक्ष्यका रूपमा गलत पहिचान गरेको उदाहरण पनि छ । सन् २०२० मा इरानी हवाइ प्रतिरक्षाले युक्रेन इन्टरनेसनल एयरलाइन्सको फ्लाइट पीएस७५२ लाई दुई सतह–देखि–हावा मिसाइल प्रहार गर्दा विमानमा सवार सबै १७६ यात्रु र चालक दलका सदस्यहरूको ज्यान गएको थियो । त्यसबेला इरानले केही दिनसम्म उक्त आरोप अस्वीकार गर्दै पश्चिमी प्रचारको संज्ञा दिएको थियो, तर पछि विमान आफ्नै प्रतिरक्षाले खसालेको स्वीकार गर्न बाध्य भएको थियो ।
यस पटकको हवाइ क्षेत्र बन्द कतारमा रहेको एक प्रमुख अमेरिकी सैन्य आधारका केही कर्मचारीहरूलाई खाली गर्न सल्लाह दिइएपछि गरिएको हो । कुवेतस्थित अमेरिकी दूतावासले पनि आफ्ना कर्मचारीहरूलाई खाडी क्षेत्रका केही सैन्य आधारहरूमा जान ‘अस्थायी रूपमा रोक्न’ निर्देशन दिएको छ ।
यसैबीच, संयुक्त राज्य अमेरिकाको अनुरोधमा संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्ले बिहीबार दिउँसो इरानको अवस्थाबारे आपत्कालीन बैठक बोलाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दिएका अस्पष्ट अभिव्यक्तिहरूले इरानविरुद्ध सम्भावित अमेरिकी कदमबारे अनिश्चितता बढाएको छ । पत्रकारहरूसँग कुरा गर्दै उहाँले धेरै विवरण नदिई इरानमा मृत्युदण्डसम्बन्धी योजना रोकिएको जानकारी आफूलाई प्राप्त भएको बताउनुभयो । एक दिनअघि उहाँले इरानका प्रदर्शनकारीहरूलाई ‘मद्दत आउँदैछ’ भन्दै इस्लामिक गणतन्त्रको घातक दमनको जवाफमा आफ्नो प्रशासनले ‘उचित कदम चाल्ने’ चेतावनी दिनुभएको थियो । एएफपी/एपी