काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनसम्बन्धी ८० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको बताएका छन् ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वीकृत कार्यतालिकाअनुसार भए गरेका कामबारे गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयोगका पदाधिकारीबीच भएको छलफलमा उनले उक्त जानकारी दिएका हुन् । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आयोगबाट स्वीकृत कार्यतालिकाअनुसार निर्वाचनको काम नियमित र तालिका भइरहेको बताए । निर्वाचन अधिकृतका कार्यालय स्थापना भइसकेको र अब निर्वाचन तयारीका हिसाबले करिब ८० प्रतिशतभन्दा बढी काम भएको उनको भनाइ छ । आयोगले यही माघ ११ गते राष्ट्रियसभाको पनि निर्वाचन गराउँदै छ । भण्डारीले निर्वाचन आचारसंहिता पालनालाई प्रभावकारी बनाउन सूक्ष्म अनुगमन गरिने बताए ।
गृहमन्त्री अर्यालले मन्त्रालय र आयोगबीच दोहोरो समन्वय हुनुपर्ने विषय पहिचान गरी सहकार्य गरिने बताए । सुरक्षा व्यवस्थापनमा सरकारका तर्फबाट पर्याप्त तयारी भएको उनको भनाइ थियो । उनले निर्वाचन तयारी, मतदान प्रक्रिया र मतणनासम्मको एकीकृत सुरक्षा योजनाअनुसार सरकारले सुरक्षाको प्रत्याभूति गर्ने पनि स्पष्ट पारे । आयोगका सचिब कृष्णबहादुर राउतले राष्ट्रियसभा सदस्य निर्वाचनको मतपत्र छपाइ सकिएको र अब मतपत्र तथा निर्वाचन सामग्री सम्बन्धित कार्यालयमा पठाउने चरणमा रहेको जानकारी दिए । मन्त्री अर्यालले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीसँग शनिबार आयोगको कार्यालय, बहादुर भवनमा छलफल गरेका हुन् ।