काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडको हकप्रद सेयरको बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल नियुक्त भएको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको एक बराबर एक प्रतिशतका दरले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ५४ करोड २५ लाख ८३ हजार तीन सय रुपैयाँ बराबरको ५४ लाख २५ हजार आठ सय ३३ कित्ता हकप्रद सेयर निष्कासन गर्नको लागि एनआईसी एसिया क्यापिटल लिमिटेडलाई बिक्री प्रर्वन्धकमा नियुक्त गरेको हो ।
सम्झौता पत्रमा मेन्छियाम हाइड्रोपावर लिमिटेडको तर्फबाट अख्तियार प्राप्त कम्पनी सचिव धनराज सुवेदी र निष्कासन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन् । एनआईसी एसिया क्यापिटलले निष्कासन तथा बिक्री प्रबन्ध सेवाअन्तर्गत हालसम्म सामूहिक लगानी कोष तथा डिबेन्चरसहित १९ वटा कम्पनीको प्राथमिक सेयर निष्कासन र चारवटा कम्पनीको हकप्रद सेयर निष्कासन कार्य सम्पन्न गरेको छ । उक्त निष्कासन तथा बिक्री प्रबन्ध सेवामार्फत हाल सम्म १८ अर्ब ९४ करोडभन्दा बढी सेयर पँुजी रकम संकलन गर्न सफल भएको छ । विभिन्न व्यक्ति तथा संस्थाहरूको नाममा रहेको २९ वटाभन्दा बढी कम्पनीको संस्थापक समूहको सेयरको निष्कासन तथा बिक्री प्रबन्ध गरी करिब दुई अर्ब रकम संकलन गर्न सफल भएका छौँ । साथै हाल क्यापिटलले दुईवटा कम्पनीको प्राथमिक सेयर तथा चारवटा कम्पनीको हकप्रद सेयर निष्कासन गर्न स्वीकृतिको लागि नेपाल धितोपत्र बोर्डमा सेयर निष्कासनको लागि तयार गरेको विवरण पत्र पेश गरेको छ ।