काठमाडौं । मेटलाइफ नेपालले महोत्तरीको बर्दिबास, मोरङको पथरी तथा बागलुङमा तीन नयाँ एजेन्सी कार्यालय सञ्चालनमा ल्याउँदै वित्तीय सुरक्षाको पहुँच थप सुदृढ बनाएको छ । यी नयाँ कार्यालयहरूसँगै मेटलाइफको उपस्थिती यी महत्वपूर्ण क्षेत्रीय केन्द्रहरू तथा वरपरका समुदायसम्म विस्तार भएको छ । नयाँ एजेन्सी कार्यालयहरूले मानिसहरूको दैनिक जीवनसँग नजिकै रही भरपर्दो बीमा मार्गदर्शन र सुरक्षा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्नेछन् ।
यी क्षेत्रका धेरै परिवार तथा साना व्यवसायका लागि जीवन बीमा पहुँच गर्नु प्रायः टाढाका सहरसम्म यात्रा गर्नुपर्ने वा सीमित जानकारीमा निर्भर रहनुपर्ने अवस्था थियो । अब स्थानीय रूपमा मेटलाइफको उपस्थिति भएपछि ग्राहकहरूले आफ्नै समुदायभित्र व्यक्तिगत सल्लाह, समयमै सेवा तथा निरन्तर सहयोग प्राप्त गर्न सक्नेछन् ।
यो विस्तारले बीमा पहुँचभन्दा बाहिर पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । स्थानीय रोजगारीका अवसर सिर्जना गर्दै र थप व्यक्तिहरूलाई बीमा व्यवसायीका रूपमा करियर निर्माण गर्न सहयोग पुर्याउँदै, यी नयाँ कार्यालयहरूले क्षेत्रीय आर्थिक गतिविधि र वित्तीय साक्षरता अभिवृद्धिमा योगदान पुर्याउने छन् । बीमासम्बन्धी चेतना र प्रयोग बढेसँगै परिवारहरूले अनिश्चितता, सम्भावित आम्दानी अवरोध तथा शिक्षा र सेवा निवृत्तिजस्ता दीर्घकालीन जीवन लक्ष्यका लागि अझ राम्रो तयारी गर्न सक्नेछन् ।
विस्तारबारे धारणा राख्दै मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने, ‘बर्दिबास, पथरी र बागलुङमा एजेन्सी कार्यालय खोल्नु भनेको समुदायस्तरमै वित्तीय सुदृढता मजबुत बनाउनु हो । जब सुरक्षा स्थानीय रूपमा उपलब्ध हुन्छ, तब परिवारहरूले सचेत निर्णय लिन, जोखिम व्यवस्थापन गर्न र आत्मविश्वासका साथ भविष्यको योजना बनाउन सक्षम हुन्छन् ।’