काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबीच सम्झौता भएको छ । बुधबार राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबीच तलबी बचत खाता तथा पेशाकर्मी सरल कर्जा सञ्चालनसम्बन्धी सम्झौता–पत्रमा हस्ताक्षर भएको हो । राष्ट्रिय वाणिज्य बैंकको केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच उक्त सम्झौता–पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका तर्फबाट कार्यकारी निर्देशक विमल डंगोलले हस्ताक्षर गरेका छन् ।
सम्झौता–पत्रमा उल्लेख भए अनुसार राष्ट्रिय वाणिज्य बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका कर्मचारीहरूका लागि तलबी बचत खाता सञ्चालन गर्नुका साथै पेशाकर्मी सरल कर्जा तथा अन्य बैंकिङ सेवासुविधा उपलब्ध गराउनेछ । उक्त कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका निर्देशकद्वय विनोद प्रसाद न्यौपाने र सीए किरण कुमार खत्री, राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेश प्रसाद लोहनी, उप–कार्यकारी अधिकृतत्रय विनयरमण पौडेल, दुर्गा कुमारी कंडेल र रामकुमार थापा, ब्रान्च अपरेसन विभागका विभागीय प्रमुख आनन्द सुवेदी, उपभोक्ता बैंकिङ विभागका विभागीय प्रमुख भोलानाथ पौडेललगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
बैंकले हाल सातवटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रमा समेत गरी तीन सय १२ वटा शाखा कार्यालय, ७१ वटा एक्सटेन्सन काउन्टर, तीन सय २२ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङमार्फत आधुनिक बैंकिङ सेवाहरू उपलब्ध गराइरहेको छ ।