काठमाडौं । एनसेलले नेपालका तीन सहरमा ‘क्रिएटर्स मेला’ आयोजना गर्न नेपालस्थित अमेरिकी दूतावाससँग सहकार्य गरेको छ । निःशुल्क उपस्थिति जनाउन सकिने यो कार्यक्रमले नेपालमा बढ्दो क्रममा रहेका कन्टेन्ट क्रिएटरहरूलाई व्यावहारिक सिकाइ, व्यावसायिक सम्पर्क तथा सहकार्यका अवसरहरू प्रदान गर्नेछ ।
यो वर्षको क्रिएटर्स मेला शनिबार चितवनबाट सुरु भएको छ । अब माघ १० गते नेपालगन्ज र माघ १६ र १७ गते काठमाडौंमा आयोजना हुनेछ । ‘भिजन टु भेन्चर’ नारा रहेको यो वर्षको कन्टेन्ट क्रिएटर्स मेला सहभागीहरूका योजनालाई कार्यान्वयनयोग्य सीप तथा वास्तविक अवसरहरूमा बदल्नेमा केन्द्रित हुनेछ । क्रिएटर्स मेलाले उदीयमान तथा स्थापित क्रिएटरहरूलाई डिजिटल कन्टेन्टको युगमा सबैभन्दा महत्वपूर्ण अनि प्रभावशाली सामग्री सिर्जना गर्न आफ्नो सीप तिखार्ने अवसर प्रदान गर्ने एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विषाखा लक्ष्मी खड्काले बताइन् । यो कार्यक्रमसँगै भिडियो प्रतिस्पर्धा पनि सञ्चालन गरेको उनले जानकारी दिइन् । यसमा दर्ता भएका सहभागीहरूले आफ्नो सीप प्रदर्शन गरेर पुरस्कार जित्न सक्नेछन् । विद्यार्थी अनि अझै सिक्ने चरणमै रहेका उदीयमान क्रिएटर लक्षित यो कार्यक्रमले क्रिएटरहरूलाई आफ्ना सामग्रीलाई थप परिष्कृत गर्न, विश्वसनीय बनाउन अनि दिगो तथा रचनात्मक व्यावसायिक भविष्य तयार पार्न प्रेरित गर्नेछ ।
त्यसैगरी, अमेरिकाको नेपालस्थित दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले क्रिएटर्स मेलाले सिर्जनात्मक क्रियाकलापमार्फत नेपालको अर्थतन्त्र सुदृढ गर्न सहयोग पु¥याउने संयुक्त राज्य अमेरिकाको प्रतिबद्धता झल्काउने बताए । देशभर ज्ञान, सीप र सञ्जाल विस्तार गरेर उद्यमशीलता र रोजगारी सिर्जनालाई प्रवद्र्धन गरिरहेको उनको भनाइ छ । नेपाली क्रिएटरहरूलाई उनीहरूको प्रभाव स्थानीयस्तरमा मात्रै सीमित नगरी अमेरिकी व्यवसायीक साझेदार तथा विश्व बजारमा समेत सफलता प्राप्त गर्न सक्ने गरी तयार पार्ने उनको भनाइ छ ।
क्रिएटर्स मेलाकै अवसरमा एनसेलले भिडियो प्रतिस्पर्धा पनि आयोजना गरेको छ । यसअनुरूप मेलाका सहभागीहरूलाई इन्स्टाग्राम र टिकटकमा एक मिनेटको भिडियो अपलोड गर्न प्रोत्साहन गरिएको छ । क्रिएटरहरूलेः ‘एनसेल फोरजीले तपाईँको जीवन कसरी सजिलो बनाउँछ’ भन्ने विषयमा केन्द्रित रहेर भिडियो तयार पार्नुपर्ने छ । प्रतिशपर्धीहरूले उक्त भिडियोमा एनसेललाई ट्याग गरेर ह्यासट्याग क्रेटागारापोस्टगारा अनि आफू सहभागी सहरलाई पनि ह्यासट्याग गरी भिडियो अपलोड गर्नुपर्नेछ ।
मेलाकै बीच प्रत्येक सहरमा एक जना विजेता छनोट गरिनेछ । उनीहरूले नगद पुरस्कार ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसबाहेक विजयी प्रतिशपर्धीले आगामी दिनहरूमा एनसेल फाउन्डेसनका विभिन्न क्रियाकलापहरूमा सहभागी हुने अवसर पनि प्राप्त गर्नेछन् । सन् २०२३ बाट सुरु भएदेखि यो कार्यक्रममा हालसम्म पाँच हजारभन्दा बढी क्रिएटरहरू संलग्न भइसकेका छन् । यो कार्यक्रमले देशका विभिन्न क्षेत्रका क्रिएटरहरूलाई एकै ठाउँमा ल्याएर व्यावसायिक ढङ्गबाट काम गरिरहेका व्यक्तिहरूबाट सिक्ने, उस्तै प्रकृतिका काम गरिरहेका समकक्षीहरूसँग जोडिने र कन्टेन्ट क्रिएसनलाई व्यावसायिक बनाउन उद्धत विशेषज्ञहरूसँग अन्तरक्रिया गर्ने अवसर प्रदान गर्नेछ ।