बाजुरा । जिल्लाको गौमुल गाउँपालिकाको एक घरमा आइतबार आगलागी हुँदा पूर्ण रूपमा घर जलेर नष्ट भएको छ । विद्युत्को तार सट भई गौमुल–२ कुहुडा बस्ने ३० वर्षीय विष्णु रोकायाको घरमा आगलागी हुँदा खरले छाएको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।
आगलागी भएको खबरपछि इलाका प्रहरी कार्यालय घटमुनाबाट टोली खटिएको उनले जानकारी दिए । प्रहरी नायब उपरीक्षक हवारीका अनुसार खरले छाएको तीनतले घरभित्र रहेका लत्ताकपडा, अन्नपात, भाँडाकुँडालगायत सामग्री जलेको र आगलागीबाट लाखौँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराले प्रहरी टोली घटनास्थल गएकाले क्षतिको विवरण सङ्कलन भइरहेको जनाएको छ ।