काठमाडौँ । चालू आर्थिक वर्षको छ महिनामा ३९ अर्ब रुपैयाँ बढीको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता (एफडीआई) आएको छ । गत साउनदेखि पुस मसान्तसम्म चार सय ७५ वटा उद्योग तथा परियोजनाका लागि ३९ अर्ब २३ करोड ६१ लाख रुपैयाँबराबरको विदेशी लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।
यो विभागमै आएर स्वीकृत गराएको र स्वचालित प्रणाली दुवै माध्यमबाट आएको लगानी प्रतिबद्धता हो । विभागबाट ३६ अर्ब ४२ करोड ६१ लाख रुपैयाँ लगानी प्रतिबद्धता गरेका लगानीकर्ताले स्वचालित प्रणालीबाट दुई अर्ब ८० करोड ९९ लाख रुपैयाँ लगानी गर्ने जनाएका हुन् । विभागका सूचना अधिकारी सुरेश दाहालले छ महिनाको अवधिमा सबैभन्दा बढी लगानी प्रतिबद्धता पर्यटन क्षेत्रमा आँउदा सबैभन्दा कम खनिज क्षेत्रमा आएको जानकारी दिए ।
समीक्षा अवधिमा पर्यटनमा एक खर्ब पाँच अर्ब ४२ करोड पाँच लाख रुपैयाँ, कृषि तथा वनमा २१ अर्ब ८८ करोड ८० लाख रुपैयाँ, सेवामा तीन अर्ब ४६ करोड ६० लाख रुपैयाँ, उत्पादनमूलकमा दुई अर्ब तीन करोड २३ लाख रुपैयाँ, सूचना प्रविधिमा एक अर्ब सात करोड ८४ लाख रुपैयाँ, ऊर्जामा १८ करोड ४२ लाख रुपैयाँ र खनिजमा चार करोड ५० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।
पर्यटनमा एक सय ४५ वटा, कृषि तथा वनमा १३ वटा, सेवामा, उत्पादनमा २७ वटा, सूचना प्रविधिमा दुई सय ५७ वटा, ऊर्जामा एकवटा र खनिजमा एकवटा उद्योग स्थापनाका लागि उक्त लगानी प्रतिबद्धता आएको हो । नेपालको उद्योग क्षेत्रमा सबैभन्दा बढी लगानी प्रतिबद्धता जनाउने मुलुकहरूमा भने चीन, भारत, हङकङ, दक्षिण कोरिया, अमेरिका, बेलायत, ब्रिटिस भर्जिन टापुलगायतका मुलुकहरू रहेका छन् । नेपालमा लगानी प्रतिबद्धता धेरै आउने र स्वीकृति रकम भने न्यून आउने गरेको छ । प्रतिबद्धताको एक तिहाइ पनि विदेशी लगानी रकम आउँदैन । नेपाल राष्ट्र बैंकको एक सर्वेक्षणले प्रतिबद्धता जनाएको प्रत्यक्ष वैदेशिक लगानीको करिब ३१ दशमलव नौ प्रतिशत मात्रै वास्तविक लगानी आउने गरेको देखाएको छ, जसले गर्दा प्रतिबद्धता र स्वीकृत लगानीबीच ठूलो अन्तर रहेको छ ।
आर्थिक वर्ष २०८१/८२मा ६४ अर्ब ९६ करोड रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । उक्त लगानी प्रत्यक्ष सहभागी मार्गबाट र स्वचालित मार्गबाट आएको हो । यसअघि आर्थिक वर्ष २०८०/८१ मा ६१ अर्ब ९० करोड ४५ लाख रुपैयाँबराबर वैदेशिक लगानीका लागि आएको थियो । मन्त्रालयका अनुसार विदेशी लगानीकर्ताले एफडीआईमार्फत नौ प्रकारका उद्योगमा लगानी गर्न सक्छन् । नौ प्रकारका उद्योगहरूमा कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, पूर्वाधार, खनिज, निर्माण सेवामूलक र पर्यटनमूलक रहेका छन् ।
उक्त उद्योगहरूमा सो लगानी प्रतिबद्धता आएको सूचना अधिकारी दाहालले जानकारी दिए । उनका अनुसार लगानीकर्ताहरूले उद्योग दर्ता तथा लगानी स्वीकृति भने उद्योग विभागबाट गर्छन् भने विभागका अलवा लगानी बोर्डमार्फत समेत लगानी स्वीकृत गर्छन् । विदेशी लगानीकर्ताले विभागमार्फत भने न्यूनतम दुई करोड रुपैयाँदेखि छ अर्ब रुपैयाँसम्मको लगानी भित्र्याउन सक्नेछन् । छ अर्ब रुपैयाँभन्दा माथिका लगानी भने लगानी बोर्डमार्फत स्वीकृत गरिन्छ । विदेशी लगानीकर्तालाई प्रत्यक्ष विदेशी लगानी तथा हस्तान्तरण ऐन, २०७५ ले नेपालमा रहेको उद्योग क्षेत्रमा लगानी गर्ने अधिकार प्रदान गरेको छ । राष्ट्र बैंकअन्तर्गत प्रत्यक्ष विदेशी लगानी शाखाका अनुसार नेपालमा विदेशी लगानीको लागि न्यूनतम सीमाप्रति विदेशी लगानीकर्ता पाँच करोड रुपैयाँ तोकिएको छ भने अधिकतम सीमा तोकिएको छैन ।
‘औद्योगिक व्यवसाय ऐन–०७५’ अनुसार १० करोड रुपैयाँसम्म स्थिर पुँजी भएको साना, १० करोड रुपैयाँदेखि २५ करोड रुपैयाँसम्मको स्थिर पुँजी भएको मझौला र २५ करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएको ठूला विभागले दर्ता गर्छ । विदेशी लगानीकर्ताहरूले लगानी ल्याउने तथा लाभांश लैजानेको लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ले सहजीकरण गरेको छ ।