काठमाडौं । गृहसचिव राजकुमार श्रेष्ठले आइतबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिए ।
गृहसचिव राजकुमार श्रेष्ठलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गरे । सो क्रममा उनले नेपाल प्रहरी प्रधान कार्यालयको परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरे ।
कार्यक्रममा गृहसचिव श्रेष्ठले कर्तव्य पालनाको सिलसिलामा वीरगति प्राप्त गर्नुहुने अमर प्रहरीहरू प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुका साथै कर्तव्य पालनका सिलसिलामा घाइते भई जीवन बिताइरहेका सम्पूर्ण प्रहरी कर्मचारीहरू प्रति शीघ्र स्वास्थ्य लाभको कामना समेत गरे । विभिन्न कालखण्डहरू पार गर्दै नेपाल प्रहरीलाई विद्यमान अवस्थासम्म ल्याइपुर्याउन विभिन्न भूमिकामा रहेर महत्वपूर्ण योगदान दिनुहुने प्रहरी कर्मचारीहरूको योगदानको प्रशंसा उनले गरे ।
सो अवसरमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले गृहसचिव ज्यूबाट प्राप्त अत्यन्तै महत्वपूर्ण, समयसापेक्ष र व्यावसायिक निर्देशनलाई संगठनले पूर्णरूपमा कार्यक्षेत्रमा लागु गर्ने प्रतिवद्धता व्यक्त गरे । प्रचलित ऐन कानूनको कार्यान्वयन, नागरिकको जीउ, धन र संवैधानिक हक अधिकारको संरक्षण र आम नागरिकमा कानुनको सर्वोच्चता र शान्ति सुरक्षाको प्रत्याभूति गराउने सन्दर्भमा नेपाल प्रहरी संगठन र संगठनमा आबद्ध सकल दर्जाका प्रहरी कर्मचारीहरू कटिबद्ध रहेको उनले बताए ।