काठमाडौं । सरोकार भएकाहरूले पर्वतारोहण र पर्यटनले नेपाल–क्यानडा सम्बन्धलाई अझ सुदृढ बनाएको बताएका छन् । नेपाल र क्यानाडाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६१औँ वर्षगाँठका अवसरमा नेपाल–क्यानाडा मैत्री तथा सांस्कृतिक संघको आयोजनामा आइतबार भएको ‘नेपाल क्यानडा सम्बन्ध विस्तारमा पर्वतारोहण पर्यटन’ विषयक अन्तरक्रियामा सरोकारवाहरूले यस्तो बताएका हुन् ।
उनीहरूले दुई देशको सम्बन्ध विस्तारमा पर्यटन क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । नेपाल र क्यानडाबीच १८ जनवरी १९६५ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको हो । कार्यक्रममा संघका पर्यटनविज्ञ आङछिरिङ शेर्पाले क्यानाडाले नेपालको स्वास्थ्य, शिक्षा, आर्थिक विकास, पूर्वाधार, जलविद्युत् र विपत् व्यवस्थापनजस्ता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको बताए । उनले भने, ‘क्यानडेली पर्वतारोही र पर्यटकहरूको निरन्तर आगमनले नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेलेको छ । साथै, क्यानडाको सर एडमन्ड हिलारी फाउन्डेसनले खुम्बु र हिमाली क्षेत्रमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र समुदाय विकासमा उल्लेखनीय योगदान दिएको छ ।’
पर्यटनविज्ञ शेर्पाले हिमालय नेपालका लागि केवल भौगोलिक संरचना मात्र नभई सभ्यता, संस्कृति र भविष्यको आधार भए पनि आज जलवायु परिवर्तनका कारण तीव्ररुपमा हिमनदी पग्लिने, हिमताल फुट्ने जोखिम बढ्नु चिन्ताजनक रहेको बताए । ‘हिमालयको संरक्षण गर्नु भनेको मानव सभ्यताको भविष्य सुरक्षित गर्नु हो । क्यानडाजस्ता मित्रराष्ट्रसँगको सहकार्यमार्फत दिगो विकास, जलवायु अनुकूलन र विपत् जोखिम न्यूनीकरण सम्भव छ’, उनले भने ।
यसैगरी संघका संरक्षक, पूर्वराजदूत तथा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले पर्वतारोहण पर्यटनमा क्यानडाको चासो रहँदै आएको बताए । हिमताल जोगाउने विषयमा नेपालको मात्र नभई विश्वकै चिन्ता रहेको बताए । उनले आगामी दिनमा हिमाल जोगाउने विषयमा थप सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए । कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद प्रतिष्ठानका पूर्वकुलपति उप्रेतीले नेपाल र क्यानाडाले विश्वस्तरका सामाजिक र मानवीय मुद्दामा सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा संघका अध्यक्ष निरोज मास्के, उपाध्यक्ष प्राडा गोपाल पोखरेल, संघका पूर्वअध्यक्ष इन्जिनियर केशव कुँवर, सदस्य देवेश ढुङ्गाना, सगरमाथा आरोही शेर्पाले आफ्नो धारणा राखेका थिए । त्यस अवसरमा सगरमाथा आरोही लाक्पा दोर्जी शेर्पा र नेपालकी कीर्तिमानी अल्ट्राधावक मिरा राईलाई विशेष सम्मान गरिएको थियो । कार्यक्रममा संघका संरक्षक तथा परराष्ट्रविद् एवं क्यानाडाका लागि नेपालका पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ, पूर्वराजदूत कालीप्रसाद पोखरेललगायतको उपस्थिति रहेको थियो ।