काठमाडौं । बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा अनुपात बढेको छ । चालू आर्थिक वर्षको पाँच महिनाको बैंकहरूको निक्षेप तथा कर्जा प्रवाहसम्बन्धी प्रतिवेदनले निष्क्रिय कर्जा अर्थात् एनपीएलको मात्र निरन्तर बढ्दै गएको देखिएको हो ।
राष्ट्र बैंकको प्रतिवेदनअनुसार गत मंसिर मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक र फाइनान्ससहितका कुल ५४ वटा संस्थाहरूले ७५ खर्ब ७८ अर्ब ७९ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन र ५६ खर्ब ६४ अर्ब ८७ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । यसमध्ये औसत पाँच दशमलव २६ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा शून्य दशमलव ८४ प्रतिशतले बढी हो ।
गत आवको सोही अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूले कुल ६६ खर्ब ८० अर्ब ९४ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी ५३ खर्ब २४ अर्ब ९९ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा चार दशमलव ४२ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । राष्ट्र बैंकका अनुसार चालू आवको मंसिर मसान्तसम्ममा वाणिज्य बैंकहरूले मात्र कुल ६८ खर्ब २२ अर्ब ४९ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी ५० खर्ब ३५ अर्ब ७१ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । त्यसमा औसतमा पाँच दशमलव शून्य तीन प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा शून्य दशमलव ७५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूले कुल ५९ खर्ब ४० अर्ब ८९ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी ४७ खर्ब १२ अर्ब ५१ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा चार दशमलव २८ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
त्यसैगरी विकास बैंकहरूले भने चालू आवको मंसिर मसान्तसम्ममा कुल छ खर्र्ब २० अर्ब ९५ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरी पाँच खर्ब २४ अर्ब ४३ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा छ दशमलव शून्य तीन प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा एक दशमलव ६६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा विकास बैंकहरूले छ खर्ब पाँच अर्ब ७९ करोड ४० लाख रुपैयाँ निक्षे संकलन गरी पाँच खर्ब १० अर्ब ५१ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा चार दशमलव ३७ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरूले भने चालू आवको पछिल्लो पाँच महिनाको अवधिमा एक खर्ब ३५ अर्ब ३४ करोड २० लाख रुपैैयाँ निक्षेप संंकलन गरी एक खर्ब तीन अर्ब ७३ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा १२ दशमलव ५२ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा एक दशमलव ६८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूले एक खर्ब ३४ अर्ब २६ करोड ४० लाख रुपैैयाँ निक्षेप संकलन गरी एक खर्ब एक अर्ब ९६ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा १० दशमलव ८४ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।