काठमाडौं । जिल्लाको जिरी नगरपालिका–२ को विकट गाउँ यलुङको बौद्ध भुवनेश्वरी सामुदायिक विद्यालयले विद्यालयको शैक्षिक सुधारसँगै भौगोलिक विकटताको चपेटामा रहेका गाउँका विद्यार्थीको सहजताको लागि स्कुल बस सञ्चालनमा ल्याउने भएको छ ।
विद्यालयको ६३औँ वार्षिकोत्सवको अवसरमा कल्स ओवर रिजेज नेपाल नामक संस्थाले स्कुल बस उपलब्ध गराएपछि बस संचालनमा ल्याउन लागिएको हो । भौगोलिक विकटताको कारण घन्टौँ हिडेर विद्यालय पुग्ने यहाँका विद्यार्थीलाई विद्यालयमा स्कुल बस चल्ने कुराले उत्साहित भएका छन् । २०१९ सालमा स्थापना भएको यहाँको विद्यालयमा हाल कक्षा १२ सम्म अध्ययन अध्यापन हुँदै आएको छ । हाल पाँच सय ५७ जना विद्यार्थी अध्ययनरत यस विद्यालयमा अधिकांश विद्यार्थीहरू टाढा गाउँबाट पैदल यात्रा गरेर आउनुपर्ने बाध्यता थियो । कल्स ओवर रिजेज नेपाल नामक संस्थाले जिरी नगरपालिकाको समन्वयमा विद्यालयमा बस सञ्चालनमा ल्याउने योजना बनाएर विद्यालय बस हस्तान्तरण गरेको जनाएको छ । नगरप्रमुख मित्र जिरेलको उपस्थितिमा विद्यालय बस हस्तान्तरण गरिएको थियो । विद्यालय बस सञ्चालन हुने भएपछि स्थानिय समेत खुसी भएका छन् । स्थानिय पार्वती खत्रीले भनिन्, ‘छोरालाई स्कुल जान–आउन दैनिक चार घण्टा लाग्थ्यो, आज स्कुल बस देख्दा म निकै खुसी छु, अब उसलाई सजिलो हुने भयो ।’
त्यस्तै, जिरी १ राबुकी रेनुका बुढाथोकीले लामो समय हिडेर बालबालिका विद्यालय जानुपर्ने समस्याको अन्त्य भएको बताइन् । उनले भनिन्, ‘पाँच केजीसम्मको झोला बोकेर छोरी जङ्गलको बाटो हुँदै दुई घण्टा हिँडेर विद्यालय पुग्थिन् । सधैँ जंगली जनावरको डर लागि रहन्थ्यो, अब बस आएपछि हामी सबैलाई ढुक्क भएको छ ।’ विद्यालयका प्रधानाध्यापक आङबाबा शेर्पाले विद्यालय बस सेवाले विद्यालय र विद्यार्थीको दूरी घटाउने र समयको बचतसँगै शैक्षिक सुधारमा टेवा पुग्ने बताए । उनका अनुसार लामो बाटो हिँड्नुपर्ने बाध्यताले विद्यार्थीको नतिजामा समेत असर पारिरहेको थियो । साथै, एसईई परीक्षाका बेला विद्यार्थीलाई १० दिनसम्म जिरी बजारमा राख्दा अभिभावकलाई पर्ने आर्थिक भार पनि अब बसको सुविधाले कम गर्ने उनले बताए ।