काठमाडौं । फिनल्यान्ड तथा नर्डिक मुलुकका पर्यटकहरूमा नेपालप्रति रुचि बढ्दै गएको छ । हेलसिन्कीमा सम्पन्न नर्डिक क्षेत्रको सबैभन्दा ठूलो पर्यटन मेला माट्का २०२६ मा पर्यटकहरूले नेपालप्रति चासो देखाएका हुन् ।
पदयात्रा, पर्वतारोहण, प्रकृतिसँग नजिकको यात्रा अनुभव र दिगो पर्यटनप्रति नर्डिक यात्रुहरूको चासोले नेपाललाई प्रमुख गन्तव्यका रूपमा अघि सारेको देखिएको छ । १५ देखि १८ जनवरीसम्म हेलसिन्की एक्स्पो तथा कन्भेन्सन सेन्टरमा आयोजित मेलामा नेपाल पर्यटन बोर्डको समन्वयमा स्थापित राष्ट्रिय प्याभिलियन नर्डिक ट्राभल ट्रेड, टुर अपरेटर तथा सम्भावित पर्यटकहरूको आकर्षणको केन्द्र बनेको थियो । मेलाको अवधिभर नेपालसम्बन्धी जानकारी लिन चाहने आगन्तुकहरूको बाक्लो उपस्थिति देखिएको थियो । राष्ट्रिय प्याभिलियनमा सहभागी नेपाली पर्यटन कम्पनीहरूले पदयात्रा, साहसिक गतिविधि, पर्वतारोहण, सांस्कृतिक तथा अनुकूलित भ्रमण कार्यक्रमलगायत नेपालका विविध पर्यटन उत्पादनहरू प्रस्तुत गरेका थिए ।
मेलाका क्रममा नेपाल पर्यटन बोर्ड तथा व्यवसायीहरूले नर्डिक क्षेत्रका ट्राभल व्यवसायीसँग प्रत्यक्ष संवाद गर्दै नयाँ व्यावसायिक सम्भावनाबारे छलफल गरेका थिए । विशेषगरी वातावरणमैत्री यात्रा, समुदायमा आधारित पर्यटन र जिम्मेवार भ्रमण अभ्यासप्रति नर्डिक बजारको चासो नेपालका दिगो पर्यटन अभ्याससँग मेल खाने देखिएको सहभागीहरूले बताएका छन् । मेलाको केन्द्रीय मञ्चमा नेपाल–फिनल्यान्ड समाजको सहकार्यमा प्रस्तुत गरिएको नेपाली सांस्कृतिक कार्यक्रमले आगन्तुकहरूको ध्यान तान्न सफल भएको छ । सांस्कृतिक प्रस्तुतीमार्फत नेपालको परम्परा, पहिचान र विविधता उजागर हुँदा नेपालप्रति थप सकारात्मक छवि निर्माण भएको छ । यसले नेपाल र फिनल्याण्डबीचको सांस्कृतिक तथा जनस्तरीय सम्बन्धलाई थप सुदृढ बनाउने नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक नवीन पोखरेलले बताए ।