विराटनगर । औद्योगिक विकास, क्षेत्रीय सहकार्य र व्यवसाय बीचको आपसी सहकार्य अभिवृद्धि गरी व्यावसायिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ उद्योग संगठन मोरङले सञ्चालन गरेको तीन दिने कोशी कनेक्ट सम्पन्न भएको छ ।
गत माघ २ गते कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले एक कार्यक्रमबीच संगठनको प्रतिनिधि मण्डललाई बिदाइ गरेका थिए । सोही दिन संगठनको प्रतिनिधिमण्डलले त्रियुगा उद्योग वाणिज्य संघका प्रतिनिधि र उदयपुरका व्यवसायीका साथ बैठक गरी उदयपुरमा उत्पादन हुने वस्तुलाई प्रशोधन उद्योगमार्फत मूल्य अभिवृद्धि गरेर किसान र उद्यमी दुवैलाई लाभ पुर्याउने विषयमा छलफल भएको थियो । संगठनका अध्यक्ष नन्दकिशोर राठीका अनुसार उदयपुरमा उद्योग क्लस्टर विकास गर्नुुका साथै निजी क्षेत्रको लगानी र ज्ञान भित्र्याउन संगठन र संघले आगामी दिनमा संयुक्तरूपमा पहल गर्ने स्पष्ट खाका समेत तयार गरिएको छ ।
कार्यक्रमको दोस्रो दिन माघ ३ गते खोटाङ उद्योग वाणिज्य संघका प्रतिनिधि र स्थानीय व्यवसायीसँगको बैठकमा खोटाङका धार्मिक सांस्कृतिक र प्राकृतिक पर्यटनको दृष्टिले होटल, होमस्टे विकासमा सहकार्यको सम्भावनाका विषयमा छलफल गरिएको थियो । खोटाङका उत्पादन र वितरण प्रणालीलाई मजबुत बनाउनका साथै स्थानीय व्यवसायलाई प्रतिस्पर्धी र दिगो बनाउने विषयमा समेत व्यापकरूपमा छलफल केन्द्रित गरिएको जानकारी अध्यक्ष राठीले दिएका थिए । त्यसैगरी कार्यक्रमको अन्तिम दिन माघ ४ गते भोजपुर उद्योग वाणिज्य संघका प्रतिनिधिका साथमा आपसी व्यापारलाई सुदृढ बनाउने, स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने, पहाड र तराईलाई साझा विकासको दिशातर्फ अघि बढाउने विषयमा छलफल गरिएको अध्यक्ष राठीले बताए ।
कोशी कनेक्ट व्यावसायिक मिशनले अन्तरजिल्ला व्यापारिक सञ्जाल तथा साझेदारी स्थापना, लगानी र व्यापारका अवसरको पहिचान तथा प्रवर्द्धनका सन्दर्भमा तीनै स्थानका उद्यमीहरूका साथ आपसी सहकार्यका विविध आयामहरूका बारेमा नया सम्भावना उजागर भएको संगठनले जनाएको छ । अभियानको क्रममा स्वदेशी उत्पादनको बजार विस्तार, बिटुबी प्लेटफर्म मार्फत व्यवसायिक सहकार्य, उद्यमशीलता र नवप्रवर्तन प्रवर्द्धन तथा आर्थिक एजेन्डामा साझा धारणा निर्माणका विषयमा सहमति र समझदारी भएको जनाइएको छ । यो तीन दिने व्यावसायिक भ्रमणमा संगठनका निवर्तमान अध्यक्ष राकेश सुराना, उपाध्यक्ष विपिन कावरा र कोषाध्यक्ष पारस लुनियालगायतका युवा उद्यमीको सक्रिय सहभागिता रहेको थियो ।