काठमाडौं । यही फागुन २१ गते हुने निर्वाचनको दिन गन्ती सुरु भएसंंगै शेयर लगानीकर्ताहरुमा नयाँ उत्साह देखिएको छ । चुनावले मुलुकमा राजनीतिक तथा आर्थिक स्थायित्व ल्याउन सक्ने र अर्थतन्त्रलाई थप चलायमान बनाउन सक्ने आकंलनका साथ लगानीकर्ताहरुमा नयाँ उत्साह छाएको हो । यसको असर साताको तेस्रो दिनको शेयर बजारमा पनि देखिएको छ ।
साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजार परिसुचक नेप्से ४२ दशमलव २६ अंकले उकालो लागेर २७ सय १४ दशमलव ८१ बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ८२ अंकले उकालो लागेर चार सय ६७ दशमलव २५ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ३९ वटा कम्पनीहरुको एक लाख १५ हजार एक सय ८१ पटकको कारोबारमा दुई करोड ५१ लाख ८५ हजार छ सय ४७ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम ११ अर्ब ८५ करोड ४२ लाख एक हजार ७० रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका सबै उपसमुहहरुको सुचक उकालो लाग्दा शेयर बजार पुरै हरियो भएको छ ।