आगमी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि पूर्वअर्थमन्त्रीहरूले विभिन्न स्थानबाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले मंगलबार दिएको उम्मेदवारी दर्ताको समयमा अधिकांश पूर्वअर्थमन्त्रीहरूले उम्मेदवारी दर्ता गराएका हुन् ।प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि पूर्वप्रधानमन्त्री तथा अर्थमन्त्री डा. बाबुराम भट्टराईले गोराख २ बाट उम्मेदवारी दर्ता गराएका छन् । उनी प्रगतिशील लोकतान्त्रिक पाटीबाट उम्मेदवार बनेका हुन् । २०७९ सालको निर्वाचनमा उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ठाउँ छाडेका थिए । तीन वर्षपछि उनी फेरि चुनावी प्रतिस्पर्धा उत्रिएका छन् । भट्टराईको प्रतिपर्धामा कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी, एमालेका मिलन गुरुङ, नेकपाका लेखनाथ न्यौपाने र रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटी रहेका छन् । अर्का पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देही–२ मा नेकपा एमालेबाट उम्मेदवार बनेका छन् । यसअघि शनिबार बसेको सचिवालय बैठकले पौडेललाई पाल्पा– २ बाट उम्मेदवार बनाउने निर्णय गरिएको थियो । तर चर्को आलोचना भएपछि उनको क्षेत्र फेरिएको हो । पौडेलले आठ पटक मन्त्री हुँदा धेरै समय अर्थ मन्त्रालयको नेतृत्व गरेका छन् ।त्यसैगरी पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महत नुवाकोट–१ बाट उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार सम्बन्धित निर्वाचन कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका नेता महतले नुवाकोटमा पहिलो पटक निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् । यसअघि सम्पन्न निर्वाचनमा नुवाकोट–१ बाट तत्कालीन नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ विजयी भएका थिए । तर यस पटक परिस्थिति फरक देखिएको छ । गठबन्धनको सहयोगविना अहिलेसम्म चुनाव जित्न नसकेका तामाङका लागि यसपालि चुनावी बाटो चुनौतीपूर्ण हुन सक्ने आकलन गरिएको छ । यता नेकपा एमालेको संगठन नुवाकोट–१ मा तुलनात्मकरूपमा कमजोर रहेको छ । एमालेबाट बद्री मैनाली उम्मेदवार रहे पनि संगठनात्मक बल र चुनावी माहोलका हिसाबले उनीलाई औसत उम्मेदवारको रूपमा हेरिएको छ । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्की सुनसरीको क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका छन् । २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा कार्की सुनसरी–४ बाटै प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । क्षेत्रीय कार्यसमितिले उम्मेदवार सिफारिसका साथ आफ्नो रायसमेत पठाउँदै २०७४ सालमा ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवारका रूपमा यस क्षेत्रमा आएपछि पार्टीभित्रको संगठनदेखि पूर्वाधार विकास, सामाजिक विकासलगायतका कार्यमा फट्को मारेको बताइन्छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता वर्षमान पुन ‘अनन्त’ले प्रतिनिधिसभा निर्वाचनका लागि गृहजिल्ला रोल्पाबाट उम्मेदवारी दर्ता गराएका छन् । पुनले मंगलबार सदरमुकाम लिवाङस्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् । पुनको प्रस्तावकमा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री जोखबहादुर महरा र समर्थकमा राष्ट्रिय सभा सदस्य झक्कु सुवेदी छन् । उम्मेदवारी दर्ता गर्ने क्रममा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वसभामुख ओनसरी घर्तीमगर, नेताहरू महरा र सुवेदीसहित लुम्बिनी प्रदेश सभा सदस्य दीपेन्द्र पुन सिजललगायत सहभागी थिए । पूर्वअर्थमन्त्री पुन तेस्रो पटक रोल्पाबाट उम्मेदवार बनेका हुन् । यसअघि उनी ०७४ र ०७९ को निर्वाचनमा रोल्पाबाट विजयी भएका थिए । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले नेता जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गराएका छन् । पुष्पकमल दाहालसँग अलग भएर पार्टी निर्माण गरेका शर्मा यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भइसकेका छन् । रुकुम पश्चिमबाट उनी चार पटक निर्वाचित भइसकेका अनुभवीनेता हुन् । एमालेका नेता एवं प्रर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई भने पार्टीले टिकट दिएको छैन । प्रतिनिधि सभा निर्वाचनका लागि चितवन–१ बाट नेकपा एमालेले छ जनाको नाम सिफारिस गर्दा एमाले नेता सुरेन्द्र पाण्डेको नाम छुटाएको हो । एमालेका पूर्वउपाध्यक्ष समेत रहेका पाण्डेको नाम जिल्ला कमिटीले सिफारिस नगर्दा चुनावी प्रतिस्पर्धाबाट वञ्चित हुन पुगेका छन् । यसअिघि उनी चितवन १ बाट परिजात समेत भएका थिए । पूर्वअर्थमन्त्रीहरू डा. युवराज खतिवडा, कृष्णबहादुर महरा र राप्रपा नेता प्रकाशचन्द्र लोहनी भने प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा नगर्ने भएका छन् ।