काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले हालसम्म समानुपातिकतर्फको एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ गरेको छ ।
केन्द्रले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १३ हजार मतपत्र छपाइ भएको हो । निर्वाचन आयोगले उपलब्ध गराएको समानुपातिकतर्फको कुल दुई करोड आठ लाख ३० हजार थान मतपत्र छपाइ गर्नुपर्ने छ । केन्द्रले हालसम्म ५० प्रतिशत मतपत्रको छपाइ गरिसकेको छ । यस्तै, केन्द्रले आयोगलाई कुल १० लाख ९८ हजार दुई सय थान मतपत्र उपलब्ध गराइसकेको छ । केन्द्रले पछिल्लो २४ घण्टामा एक हजार चार सय ३१ बाकस मतपत्रको प्याकिङसमेत सम्पन्न गरेको छ । कुल सात हजार आठ सय ४१ बाकस मतपत्र प्याकिङ भइसकेको र १२ हजार नौ सय ८९ बाकस भने बाँकी छ ।
प्रत्यक्षतर्फको मतपत्र भने उम्मेदवारको मनोनय, दाबी विरोधको प्रक्रिया सम्पन्न भई अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिसकेपछि सुरु हुने जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।