चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै हातहतियार बुझाउन सरोकार भएका सबैलाई आग्रह गरेको छ । कार्यालयले सबैलाई व्यक्तिगत सुरक्षाका लागि स्थानीय प्रशासनसँग अनुमति लिएर राखिएका हतियार बुझाउन आग्रह गरेको हो ।
व्यक्तिगत सुरक्षाका लागि राखिएका हातहतियार १५ दिनभित्र नजिकको प्रहरी कार्यालयमा बुझाउन कार्यालयले एक सूचना जारी गर्दै आग्रह गरेको छ । कार्यालयका सूचना अधिकारी मदन लामा थिङका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र विश्वसनीय वातावरणमा सम्पन्न गराउन सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै इजाजत प्राप्त हतियार बुझाउन भनिएको हो ।
आगामी चैत २० गते पश्चात् अहिले बुझाइएका हतियार सबैलाई फिर्ता गरिने सूचना अधिकारी थिङले जानकारी दिए । तोकिएको समयमा हतियार नबुझाए, अटेर गरेमा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने उनले बताए ।