काठमाडौं । एम्बास्डर्स क्लब नेपालले संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक–नेपाल हाना सिंगल–हाम्दीलाई विशेष समारोहबीच ‘रिक्गनिसन अवार्ड– २०२५’ द्वारा सम्मान गरेको छ ।
विशालनगरस्थित आफ्नै कार्यालय परिसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाले हानालाई अवार्ड हस्तान्तरण गरेका हुन् । क्लबकी अध्यक्ष तथा पूर्वराजदूत डा. शर्मिला पराजुली ढकालले हानालाई सम्मानको रुपमा उक्त अवार्ड दिएको बताइन् । ‘उहाँ (हाना)को विशिष्ट नेतृत्व, सेवामा समर्पित र नेपालको विकास यात्रामा गरेको दिगो योगदानको कदर गर्दै एम्बास्डर्स क्लब नेपालले महामहिम हाना सिंगर–हाम्दीलाई रिक्गनिसन अवार्ड–२०२५ प्रदान गर्दछ’, अध्यक्ष डा. शर्मिलाले भनिन् । यो अवार्ड अब एम्बास्डर्स क्लब नेपालले वार्षिकरुपमा प्रदान गर्नेछ । क्लबले हरेक वर्ष राजदूत, कूटनीतिज्ञ र अन्तर्राष्ट्रिय संस्थाका प्रमुख तथा अधिकारीहरूलाई प्रदान गर्नेछ । हानाले पहिलो संस्करणको अवार्ड पाएकी हुन् । एम्बास्डर्स क्लब नेपालले यो सम्मानले नेपालमा विकास सहयोगलाई सुदृढ पार्ने र सकारात्मक परिवर्तनलाई बढावा दिने आफ्नो निरन्तर प्रतिबद्धतालाई प्रतिविम्बित गर्ने जनाएको छ । कार्यक्रममा नेपालस्थित विदेश राजदूतहरू, कूटनीतिज्ञहरू, नेपाल सरकारका उच्च अधिकारीहरू, अन्य कूटनीतिक नियोगका अधिकारीहरू र निजी क्षेत्रका नेताहरूको पनि उपस्थिति रहेको थियो ।