काठमाडौं । ग्लोकल प्रालिको ग्लोकल आफ्टर स्कूलले आयोजना गरेको ‘स्किल विक २०२६’को सातौँ संस्करणमा पाँच जना ‘स्किल हिरो अवार्ड’बाट सम्मानित भएका छन् ।
विभिन्न पाँच विधामा उनीहरूलाई अवार्ड प्रदान गरिएको हो । आफ्नो क्षेत्रमा अनुकरणीय सीप प्रदर्शन गरी सकारात्मक प्रभाव पार्न सफल पाँच व्यक्तित्वहरूलाई सम्मानित गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार पर्यटन र आतिथ्यमा ऋषभ अग्रवाल, कला र संस्कृतिमा किशोर कायस्थ, उद्यमशीलतामा अनुष्का श्रेष्ठ, विज्ञान र प्रविधिमा समीर र प्रशिक्षुता सोनाम नेम्वाङलाई सम्मान गरिएको हो । यस वर्षको स्किल विक सीप–केन्द्रित प्रतियोगिता, प्रदर्शनी र सिकाइ सत्रहरूका साथै मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरी एउटा ’इन्फोटेनमेन्ट’ हप्ताको रूपमा मनाइएको थियो । जनवरी ११ देखि १६ सम्म आयोजित यस छैटौँ संस्करणमा विभिन्न क्षेत्रका विज्ञहरूले युवाहरूलाई आफ्नो ज्ञान र अनुभव बाँडेका थिए । कला र संस्कृति, उद्यमशीलता, पर्यटन तथा आतिथ्य, र विज्ञान तथा प्रविधि गरी चार मुख्य क्षेत्रमा केन्द्रित यस कार्यक्रममा रोजगार मेला, केस स्टडी प्रस्तुतीकरण र सांगीतिक कन्सर्टजस्ता रोचक गतिविधिहरू पनि समावेश थिए ।
यस्तै पुल्चोकस्थित एम्बार्क कलेजमा ‘स्किल फेस्ट’ पनि आयोजना गरिएको थियो, जहाँ कार्यशाला, प्रदर्शनी र रोजगार मेला सञ्चालन भएका थिए । सोही दिन ‘सीईओ अनप्लग्ड’को ११औँ संस्करणको पनि आयोजना भएको थियो । ‘टुडे मिट्स टुमरो’ भन्ने नाराका साथ आयोजित उक्त सत्रमा सौरभ ज्योति (पद्म ज्योति ग्रुप), सञ्जय गोल्छा (नियोटेरिक नेपाल) र आँचल कुँवर (दराज नेपाल) लगायतले प्यानल छलफलमा भाग लिएका थिए ।